
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा राजनीतिक दलमा खसेको मतका आधारमा त्यस्तो विश्लेषण गर्न थालिएको हो ।
यस जिल्लामा नयाँ थपिएका मतदातासहितको कुल मतदाता संख्या चार लाख ७४ हजार ८३१ पुगेको छ ।
स्थानीय तह निर्वाचनमा सहभागी नभएका ५७ हजार बढी मतदाताले मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सहभागी हुँदा त्यतिखेर कुल खसेको मत जोडिँदा दलका उम्मेदवारका लागि निर्णायक बन्नसक्ने राजनीतिक वृत्तदेखि चिया पसलमा आँकलन गर्न थालिएको छ ।
स्थानीय तह निर्वाचनपछि थप भएका मतदाताको संख्यात्मक उपस्थिति हेर्दा यस जिल्लाको धरान उपमहानगरपालिकामा ११ हजार ३७ जना नयाँ मतदाता थपिएका छन् । इटहरी उपमहानगरपालिकामा ११ हजार ४६६ जना नयाँ मतदाता जोडिन पुगेका छन् ।
इनरुवा नगरपालिकामा चार हजार ८९ जना थप हुँदा बराह नगरपालिकामा ८ हजार ६७८ जना नयाँ मतदाता थपिएका छन् ।
त्यसैगरी, रामधुनी नगरपालिकामा पाँच हजार ४७५ जना र दुहवी नगरपालिकामा दुई हजार ८३४ जना मतदाता थप भएका छन् ।
यस जिल्लाका दुई उपमहानगर र चार नगरपालिकाबाहेक ६ गाउँपालिकातर्फ बर्जु गाउँपालिकामा दुई हजार ४१ जना, गढी गाउँपालिकामा एक हजार ५८७ जना, हरिनगरा गाउँपालिकामा एक हजार ४०९ जना, देवानगन्ज गाउँपालिामा एक हजार २४२ जना मतदाता स्थानीय तह निर्वाचनकोभन्दा बढी थप हुँदा भोक्राहामा एक हजार ३२२ जना र कोसी गाउँपालिकामा ६४७ जना नयाँ मतदाता थप भएका छन् ।
यस जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि चार र प्रदेशसभा निर्वाचनका लागि ८ निर्वाचन क्षेत्र कायम भएका छन् ।
मंसिर २१ गतेको चुनावका लागि गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका उम्मेदवारको उपस्थिति र स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा क्षेत्र नम्बर–१ मा वाम गठबन्धन बलियो देखिएको छ ।
क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनको तुलनामा केही मजबुत् देखिएपनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिँदैछ ।
स्थानीय तहको मत जोड्दा क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक गठबन्धन भारी देखिन्छ ।
क्षेत्र नम्बर–४ मा वाम गठबन्धनभन्दा थोरै मतान्तरले लोकतान्त्रिक गठबन्धन अघि रहेको आँकडाले देखाएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर–१ मा नयाँ थप भएका मतदातासमेत गरी कुल मतदाता संख्या एक लाख २२ हजार ६०८ पुगेको छ ।
चुनावी मैदानमा वाम गठबन्धनबाट एमालेका जयकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका अशोककुमार राईबीच प्रतिस्पर्धा हुँदैछ ।
स्थानीय तहको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ मा कांग्रेसले २३ हजार २४ मत प्राप्त गरेको थियो । त्यतिखेर नेकपा एमालेले ३० हजार १३८ ल्याएर विजय सुनिश्चित गरेको थियो ।
स्थानीय तह निर्वाचनमा एक्लै चुनावी मैदानमा भिडेको नेकपा माओवादी केन्द्रले १२ हजार ७४०, नयाँ शक्ति पार्टीले पाँच हजार ५ मत र राप्रपाले ५८७ मत पाएको थियो ।
स्थानीय तहको नतिजालाई आधार मान्दा सुनसरी क्षेत्र नम्बर–१ मा वाम गठबन्धनको पक्षमा ४२ हजार ८७८ मत देखिन्छ । जुन नेपाली कांग्रेसले पाएको मतभन्दा १९ हजार ८५४ मत बढी हो ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिको मत जोड्दासमेत वाम गठबन्धन १४ हजार बढी मतले अघि देखिन्छ ।
तर, वाम गठबन्धनमा माओवादी र नेकपा एमालेबीच बलियो एकता रहन्छ भन्ने विषयमा आशंका उम्मेदवारी दर्ता गर्नुभन्दाअगावै सार्वजनिक भइसकेका छन् ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख ३० हजार ३७० मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने देखिएको छ ।
यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका डम्बर सुवेदी हिमाल र नेपाली कांग्रेसका तर्फबाट सीताराम मेहताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
स्थानीय तह निर्वाचनमा सुनसरी–२ बाट नेपाली कांग्रेसले २७ हजार ८५९ मत पाएको थियो भने नेकपा एमालेले २८ हजार ९४० मत पाउँदा माओवादी केन्द्रले चार हजार ६३९, नयाँ शक्तिले ४०४, राप्रपाले १२ सय ७६, नेपाल लोकतान्त्रिक फोरमले पाँच हजार ७२८ र संघीय समाजवादी फोरमले चार हजार ६२२ मत पाएको थियो ।
स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा यस क्षेत्रमा वाम गठबन्धनको पक्षमा ३३ हजार ५७९ मत खसेको देखिन्छ । त्यस्तै, नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको मत जोड्दा ३३ हजार ५८७ मतको योग देखिन्छ ।
राप्रपा र नयाँ शक्तिले पाएको मत लोकतान्त्रिक गठबन्धनमा जोडिँदा नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा एक हजार ६८० मतले अगाडि देखिन्छ । जहाँ लोकतान्त्रिक गठबन्धन अघि देखिएपनि वाम गठबन्धनसँग कडा टक्कर हुनसक्ने देखिन्छ ।
सुनसरी क्षेत्र नम्बर–३ मा नयाँ थपसहित एक लाख ९ हजार ८४१ जना मतदाताले यसपटकको मतदानमा भाग लिँदैछन् ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठबन्धनबाट एमालेकी वैकल्पिक केन्द्रीय भगवती चौधरीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।
अघिल्लोपटक संविधानसभा निर्वाचनमा झिनो मतान्तरले नेता गच्छदारले चुनावमा जित प्राप्त गरेका थिए ।
गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसले २१ हजार ५७७ मत ल्याएको थियो भने नेकपा एमालेको पक्षमा २० हजार २७ मत, नेकपा माओवादी केन्द्रले पाँच हजार ९९३, राप्रपाले एक हजार ८८९, नेपाल लोकतान्त्रिक फोरमले १७ हजार ६७३ र संघीय समाजवादी फोरमले तीन हजार ४२७ मत पाएको आँकडाले देखाएको छ ।
उक्त प्राप्तका आधारमा हेर्दा क्षेत्र नम्बर–३ मा वाम गठबन्धनको पक्षमा २६ हजार २० मत परेको देखिन्छ भने नेपाली कांग्रेसको पक्षमा ३९ हजार २५० मत देखिन्छ । सो मतको आधारमा क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसको पक्षमा १३ हजार २३० मत बढी देखिएको छ ।
सुनसरी क्षेत्र नम्बर–४ मा पछिल्लो थप मतदातासमेत गरी कुल एक लाख ११ हजार ४८१ जना मतदाता पुगेका छन् ।
यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ र नेपाली कांग्रेसका लोकतान्त्रिक गठबन्धनबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीचमात्र कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले २१ हजार २३३ मत प्राप्त गरेको थियो । त्यसमा नेकपा एमालेले १८ हजार ३२२ मतमात्र प्राप्त गरेको देखिन्छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा चार हजार २०६, राप्रपाले एक हजार १७० मत, नेपाल लोकतान्त्रिक फोरमले तीन हजार ६६७ मत र संघीय समाजवादी फोरम नेपालले ८ हजार ९१७ मत प्राप्त गरेको देखिन्छ ।
जसअनुसार सुनसरी क्षेत्र नम्बर–४ मा वाम गठबन्धनको पक्षमा २२ हजार ५२८ मत खसेको देखिन्छ ।
स्थानीय तहमा खसेको मत हेर्दा लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ९०० मत आएको देखिएको छ । राप्रपाले पाएको मत नेपाली कांग्रेसले प्राप्त ग¥यो भने नेपाली कांग्रेस केही मजबुत् हुने देखिन्छ ।
यद्यपि, एमाले प्रवेश गर्नुपूर्व हालका वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ राप्रपाका पूर्वमहामन्त्री रहेको र उनको पकड मानिएको सो क्षेत्रको मत दुवै गठबन्धनका लागि निर्णायक बन्नसक्ने पनि अनुमान गर्न थालिएको छ ।
पछिल्लो राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दा यस जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ भने प्रदेशसभा सदस्यको निर्वाचनका लागि ‘हाम्रो होइन, राम्रो व्यक्तित्व’ भएका नेताको छनोटमा मतदान जाने सम्भावना बढी देखिएकाले अहिले नै कसले बाजी मार्ला भनेर आँकलन गरिएको देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्