७ असार २०८२, शनिबार | Sun Jun 22 2025


यसरी पैसा बाँडेपछि उम्मेदवार आलेसँग आयोगले माग्यो स्पष्टीकरण


0
Shares

आचारसंहिताविपरीत रकम बाँडेको भन्दै आलेसँग स्पष्टीकरण माग गरिएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले बुधबारदेखि लागू हुनेगरी २४ घन्टाभित्रै जवाफ दिन स्पष्टीकरण सोधिएको जानकारी दिए ।

नेकपा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका वैकल्पिक केन्द्रीय सदस्य आलेमगरले मंगलबार डोटीको पूर्वीचौकी गाउँपालिकामा आयोजित एक चुनावी कार्यक्रममा रकम बाँडेको कुरा बाहिरिएको थियो । त्यसपछि सो सम्बन्धमा उनीमाथि उजुरी परेको थियो ।

उनले पूर्वीचौकी गाउँपालिका सानागाउँकी चन्नरीदेवी भण्डारीलाई नगद ११ हजार पाँच रुपैयाँ हस्तान्तरण गरेका थिए ।

उम्मेदवार आलेमगरले पनि भण्डारीलाई रकम हस्तान्तरण गरेको स्वीकारेका छन् ।

‘उहाँले मलाई छोराको उपचारका लागि सहयोग माग्दा मैले मानवीयताका आधारमा सहयोग गरेको हुँ’–उनले भने–‘यो कुनै चुनावी कार्यक्रममा होइन, पार्टीको अगुवा कार्यकर्ता भेलामा दिइएको हो ।’

उनका समर्थक तथा पार्टी कार्यकर्ताहरुले भने सामाजिक सञ्जालमै चुनावी दौरानमा आलेमगरले रकम हस्तान्तरण गरेको उल्लेख गरेका छन् ।

कार्यकर्ताहरुले चुनावी कार्यक्रममा अरु कार्यकर्ताहरुबाट ३० हजार र आलेमगर स्वयंले ११ हजार पाँच रुपैयाँ हस्तान्तरण गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उक्त सबै रकम उम्मेदवार आलेले नै भण्डारीलाई विधिवतरुपमा कार्यक्रमकैबीचमा हस्तान्तरण गरेका थिए ।