१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


२० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा


0
Shares

काठमाडौं, पुस १६ । आगामी महिनामा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी–२० शृंखलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

नेपालले आगामी माघमा युएईसँग तीन खेलको एकदिवसीय र तीन खेल ट्वेन्टी–२० शृंखलाका खेल खेल्दैछ ।

आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले २० सदस्यीय टोलीको सोमबार घोषणा गरेको हो ।

छनोट हुने टोलीको कप्तानमा पारस खड्का छन् । अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन् ।

यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहितकुमार पौडेल प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, सुशन भारी, शरद भेषवाकर र सन्दीप जोरा छन् ।

नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खेल्नेछ ।

भीम सार्की, सन्दीप जोरा र पवन सर्राफ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलोपटक समावेश भएका हुन् ।

खेलमा पहिले एकदिवसीय र त्यसपछि टी–२० शृंखला हुनेछ ।

नेपालले अघिल्लो वर्ष जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । रासस