७ असार २०८२, शनिबार | Sat Jun 21 2025


महोत्तरीमा ९ हजार मतदाता थपिए


0
Shares

गत असोजमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन लाख ८ हजार ४०९ मतदाता रहेका जिल्लामा यसपालि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ९ हजार २८० मतदाता थपिएका हुन् ।

अहिले मतदाताको संख्या तीन लाख १७ हजार ६८९ रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो ।

विगतमा ६ ओटा संसदीय निर्वाचन (संविधानसभा) क्षेत्र रहेको जिल्लामा अब संवैधानिक नयाँ व्यवस्थाअनुसार चार प्रतिनिधिसभा क्षेत्र र ८ प्रदेशसभा क्षेत्र बनेका छन् ।

प्रतिनिधिसभा क्षेत्रगत मतदाता अभिलेखमा सबैभन्दा बढी १ नम्बर क्षेत्रमा ८० हजार ५६३ रहेका जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिइन् ।

यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा ७९ हजार १९७, क्षेत्र नम्बर–४ मा ७९ हजार २५ र क्षेत्र नम्बर–३ मा ७८ हजार ९०४ मतदाता रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११ ओटा मतदान केन्द्र पनि थपिएका छन् ।

मतदानस्थल स्थानीय तह निर्वाचनताकाकै २५८ कायम भएपनि त्यतिखेर कायम रहेका ४१५ केन्द्रलाई बढाएर आसन्न निर्वाचनका लागि ४२६ मतदान केन्द्र बनाइएको निर्वाचन अधिकारी रायले जानकारी दिइन् । रासस