१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


७औं अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन कोलोम्बो घोषणापत्र जारी गर्दै सम्पन्न (१४ तस्वीर)


0
Shares

श्रीलंकाको कोलोम्बोमा गत १६ गतेदेखि भएको सम्मेलन मंगलबार कोलोम्बो घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले भगवान् बुद्धको शान्ति सन्देश प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यस्तै, अप्रिल ८ मै जापानमा निर्माणाधीन ‘द ग्य्रान्ड हल बुद्धिजम् नालन्दा’ महाविहारको उद्घाटन गर्ने, ८औं अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सन् २०१८ को नोभेम्बरमा जापानको महीनामा आयोजना गर्नेलगायतका प्रस्ताव पारित भएको नेपालबाट सम्मेलनमा सहभागी भिक्षु बोधिज्ञान महास्थवीरले जानकारी दिए ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबाट उद्घाटन भएको उक्त सम्मेलनमा युगान्डाका दोस्रो राजा, भुटानकी राजकुमारी, लाओसका उपराष्ट्रपति, मंगोलियाका भूपूराष्ट्रपतिको उपस्थिति रहेको जनाइएको छ ।

सम्मेलनको सफलताका लागि नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरूबाट शुभकामनापत्रसमेत पठाइएको थियो ।

साथै, अखिल नेपाल भिक्षु महासंघ, धर्माेदय सभा, युवक बौद्धमन्डल, लुम्बिनी विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूबाट पनि सन्देश पठाइएको थियो ।

श्रीलंकाको महत्वपूर्ण राष्ट्रिय घटनाकोरूपमा राज्यस्तरबाट सम्पूर्ण व्यवस्था मिलाइएको उक्त सम्मेलनको दोस्रो दिनमा ४७ सदस्य राष्ट्रहरूमा भएका बौद्ध गतिविधिहरूको रिपार्ट पेस गरिएको जनाइएको छ ।

विश्व शान्ति विहारका प्रमुख भिक्षु ज्ञानपूर्णिक महास्थवीर नेपालको प्रमुख सदस्य रहेको उक्त सम्मेलनमा विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थवीर, भिक्षु निग्रोध र मिम शाक्य नेपालबाट प्रतिनिधिकोरूपमा सहभागी भएका थिए ।

नेपाली प्रतिनिधिमन्डलले नेपालको लुम्बिनीमा सम्मेलन आयोजना गरी लुम्बिनीको प्रचार–प्रसार र विकासमा सहयोग गर्न आयोजकहरूलाई प्रस्ताव गरेको जनाइएको छ । सम्मेलनमा पाँच महादेशका ४७ ओटा देशले भाग लिएका थिए ।