Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


प्रदेश–३ मा राजधानी र नामाकरणको विषय ‘हिउँदे अधिवेशनमा टुंग्याउने तयारी’


0
Shares

रवीन्द्र गौतम (इमेज)

हेटौंडा, पुस १६ । प्रदेश नम्बर–३ को वर्षे अधिवेशन गत बिहीबारबाट अन्त्य भएको छ ।

जेठ १ गतेबाट सुरु भएको अधिवेशन अवधिभर ४२ दिन संसद बैठक बस्यो । तर, बहुप्रतीक्षित र सबैका लागि चासोकारुपमा रहेको प्रदेश राजधानी र नामाकरणको विषय भने टुंगिन सकेन ।

३ नम्बर प्रदेशको वर्षे अधिवेशन पुस १२ गतेबाट सकिएको हो । अब अर्को अधिवेशन एक महिनापछि बस्ने बताइएको छ ।

करिब चार महिनासम्म चलेको अधिवेशनमा ४२ दिन संसद बैठक बस्यो ।  ६१ पटकसम्म बसेको बैठक ६६ घन्टा २० मिनेट चलेको थियो ।

गत अधिवेशनमै स्थायी राजधानी र नामकरण गर्ने दाबी मुख्यमन्त्री डोरमणि पौडेललगायतले गरेका भएपनि त्यसले सफलता भने पाउन सकेन ।

प्रदेशसभामा हालसम्म २८ ओटा विधेयकहरु दर्ता भएका छन् । त्यसमध्ये २४ ओटा विधेयक पारित भइसकेका छन् ।

यस अधिवेशनमा प्रदेशसभाले बजेट पारित गरेको छ भने केही महत्वपूर्ण विधेयकहरु पनि पारित भएका छन् ।

गएको अधिवेशनबाट प्रदेशको स्वास्थ्यसम्बन्धी विधेयक, खेलकुदसम्बन्धी विधेयक, सन्चार विधेयक, संस्था दर्तासम्बन्धी विधेयक, प्रदेश दुग्ध विकास बोर्ड विधेयक, प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक, प्रदेशसभा सदस्य, मन्त्रिपरिषद र सचिवालयको सेवा–सुविधासम्बन्धी विधेयकलगायत महत्वपूर्ण विधेयकहरु पारित भए ।

त्यसैगरी, सोही अधिवेशनमा प्रदेश नियमावली संशोधन गर्न समिति पनि बन्यो ।

३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामाकरणको विषय सर्वसम्मतिका आधारमा हिउँदे अधिवेशनमा टुंग्याउने तयारी गरेको जानकारी दिए ।

प्रदेश राजधानीको विषय टुंग्याउनका लागि अदालतमा मुद्दा परेको र सर्वपक्षीय सहमति पनि नभइसकेकाले तत्काल टुंगो लगाउन नसकिएको उनको भनाइ छ ।

अपेक्षितरुपमा वर्षे अधिवेशनमा काम नभएपनि केही महत्वपूर्ण विधेयक भने पारित भएका छन् ।

अन्य कामहरु पनि आशातीत तरिकाले प्रदेश सरकारले गर्न नसकिरहेका बेला राजधानी र नामाकरणको विषयलाई आलटाल गरिनुले धेरैमा असन्तुष्टि देखिएको छ ।

भिडियो हेर्नुहोस्