२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


फ्रान्सेली राष्ट्रपति म्याक्रों ‘शक्तिशाली शासक’सँग भेट्न अचानक साउदीमा


0
Shares

फ्रान्सेली राष्ट्रपति म्याक्रों अचानक साउदी अरेबियाको भ्रमणका लागि रियाद पुगेका हुन् । बिहीबार अपरान्ह् यहाँ आइपुगेका उनले साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताका विषयमा बढी कुराकानी गरेको बताइएको छ ।

पछिल्लो समयमा लेबनान र अरु कूटनीतिक विषयलाई लिएर साउदी अरेबिया र इरानका बीचमा सम्बन्ध चिसिएको छ । यस्तो बेलामा फ्रान्सेली राष्ट्रपतिले गरेकोसाउदी अरेबियाको अकस्मात भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

लेबनानसँग फ्रान्सको राम्रो सम्बन्ध रही आएको बताइन्छ । साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी इरानबीचको बृहत द्वन्द्वमा लेबनान पनि बीचमा आएको बताइएको छ ।

केही दिनमात्र अघि साउदी अरेबीयाले आफ्ना नागरिकहरुलाई तत्कालै लेबनान छाड्न सूचना जारी गरेको थियो । त्यसपछि फ्रान्सेली राष्ट्रपतिको साउदी अरेबियाको भ्रमण तय भएको थियो ।

पछिल्लो तनावका बीच साउदी विदेशमन्त्रालयले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि भनेको बताइएको छ ।

फ्रान्सेली राष्ट्रपतिले साउदी अरेबियाको भ्रमण गरिरहँदा यता साउदी अरेबियाले भने आफ्नो देशमा भ्रष्टाचारविरोधी अभियान सुरु गरेको छ ।

यस क्रममा उसले सयौं व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गर्ने भन्दै नियन्त्रणमा पनि लिइरहेको छ । विश्लेषकहरुका अनुसार साउदी अरेबियाका राजकुमार यतिखेर शक्तिशाली शासक भएका छन् । (रासस/एएफपी)