७ असार २०८२, शनिबार | Sat Jun 21 2025


यो हो काठमाडौंको ‘हुम्ला–जुम्ला’ बस्ती ! तपाइँ पुग्नुभएको छ ? (भिडियो रिपोर्ट)


0
Shares

तर, राजधानी काठमाडौंकै कतिपय स्थानमा भने चुनावी रौनक छाएकै छैन ।

बत्तीमुनि अँध्यारो भनेझैं काठमाडौंको क्षेत्र नम्बर–३ अन्तर्गत् पर्ने गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ को चिलाउने, गैह्रीगाउँ, घिसिङगाउँलगायतका तामाङबस्तीले पनि अँध्यारोबाट मुक्ति पाउन सकेको छैन ।

यो बस्तीमा आक्कल–झुक्कल पुग्ने नेताहरुले उज्यालो बनाइदिने आश्वासन त धेरै बाँडे । तर, उज्यालोमा बस्ने उनीहरुको चाहना भने अझै पूरा हुन सकेको छैन ।

काठमाडौंको जोरपाटी हुँदै झन्डै दुई घन्टाको कच्ची मोटरबाटो छिचोलेपछि पुगिने यो बस्तीलाई स्थानीयले ‘हुम्ला–जुम्ला’कोरुपमा चित्रण गर्दछन् ।

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलै–जंगलको यात्रापछि पुगिने जंगलको बीचमा रहेको यो गाउँमा चिलाउने, माझगाउँ, ओख्राङ, गैह्रीगाउँ, बीचचिलाउने, घिसिङगाउँलगायतका बस्ती छन् ।

काठमाडौं भएर के भो र ? काठमाडौंले हेला गरेको गुनासो गर्छन्, उनीहरु । यहाँका मानिस बाह्रैमहिना कोदो, फापर, जौ, गहुँ र सिलाममा निर्भर छन् । काठमाडौंमा के भइरहेको छ भन्ने समाचारबाट पनि उनीहरु टाढै छन् ।

पशुपालनबाहेक उनीहरुका लागि विकल्प छैन । अहिले मुलुकमा चुनावको मध्य चटारो छ । तर यो गाउँमा अहिलेसम्म न निर्वाचन आयोग पुगेको छ, न त कोही चुनाव हुन्छ भनेर नै पुगेका छन् ।

देशका विभिन्न भागमा चुनावी प्रचार तीव्र हुँदा यो गाउँमा बल्लतल्ल एकदिने प्रचारमा नेताहरु उक्लिएका छन् ।

चुनावी प्रचारमा भेटिएका काठमाडौं क्षेत्र नम्बर–३ का वाम गठबन्धनका उम्मेदवार कृष्ण राईले पनि आफू यो गाउँमा बिरलै आउने गरेको स्वीकारे । तर, आफूले जिते यस क्षेत्रको मुहार फेरिदिने आश्वासन उनले दिएका छन् ।

नेताहरुलाई भोट माग्ने चटारो हुँदा यहाँका गाउँलेलाई भने खेतीपाती थन्क्याउने चटारो देखिन्थ्यो ।

चुनावी प्रचारमा भेटिएका काठमाडौं क्षेत्र नम्बर–३ वाम गठबन्धनबाट प्रदेशसभा–२ का उम्मेदवार रामेश्वर फुँयाल पनि आश्वासन बाँडी नै रहेका थिए ।

२०७२ सालमा गएको शक्तिशाली भूकम्पले उनीहरुलाई दिएको चोट अझै निको हुन सकेको छैन ।

निर्वाचनका बेला भोट माग्न एक दिन आउने गरेका नेताहरुलाई पनि यहाँका बासिन्दालाई परेको चोटका विषयमा खासै चासो छैन ।

लामो समयसम्म टहरामै बस्नुपरेको पीडा नेताहरुले देखिदिए हुन्थ्यो भन्ने आशा भने स्थानीयको मरेको छैन ।

चुनावका बेला भोट माग्न करबलले फाट्टफुट्ट पुग्ने नेताहरुबाट यो ठाउँको विकास हुन्छ भन्नेमा स्थानीय त्यति आशावादी भने छैनन् ।

भिडियो हेर्नुहोस्