७ असार २०८२, शनिबार | Sat Jun 21 2025


मतपत्र रुजु गर्दै प्याकिङको काम शुरु


0
Shares

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रुजु गर्दै प्याकिङ थालिएको हो । समानुपातिकतर्फको करिब ९० हजार मतपत्र रुजु गर्दै प्याकिङ गरिसकिएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार, समानुपातिकतर्फको मतपत्र रुजु गर्दै प्याकिङको काम सकाएर प्रत्यक्षतर्फको मतपत्र रुजु गर्दै प्याकिङ गरिनेछ ।

निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामाग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र गत बिहिबार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत सदरमुकाम दिक्तेल आइपुगेको थियो ।

जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगत प्रत्यक्षतर्फ एक लाख ४१ हजार, प्रदेशसभातर्फ (क) का लागि ७३ हजार र (ख) का लागि ७८ हजार थान मतपत्र आएको छ । यस्तै, समानुपातिकतर्फ एक लाख ४१ हजार मतपत्र आएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

जिल्लामा कायम रहेको १३६ मतदानस्थलमध्ये २८ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । जिल्लामा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि १७९ मतदान केन्द्रमार्फत मतदान हुने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । ७९ वडा कायम जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाताबाट १ जना प्रतिनिधिसभा र दुई जना प्रदेशसभाका लागि जनप्रतिनिधि चयन हुनेछन् । उक्त प्रतिनिधिका लागि १९ जनाको मनोनयन दर्ता भएको छ ।