Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


विक्रम पाण्डे भन्छन्– दाहाल ‘टुरिष्ट’ उम्मेदवार हुन्


0
Shares

भरतपुर–६ गीतानगर बजारमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार–प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले भने, ‘चुनाव जितेका विगतका ठाउँमा विकास भएको भए जनता झुक्याउँदै हिड्नुपर्थेन, अब चितवनका जनताले साथ दिने छैनन् ।’

उनले प्रतिस्पर्धी उम्मेद्वार दाहाललाई लक्षित गर्दै भने, ‘कहिले कुन देश, कहिले कुन देश गएजस्तो किन गर्नुपर्‍यो, आफुले जितेका ठाउँमा मजाले काम गरेर पूरै विकास गरको भए ठाउँ खोज्दै, मौका खोज्दै हिड्नुपर्थेन ।’

आफूले निर्वाचन जिते पनि, हारे पनि चितवन नछाडेको प्रसंग सुनाउँदै उनले भने, ‘साविक ५ नम्बर क्षेत्रमा भरतपुर महानगरका केहि वडा पनि थपिएका छन्, कांग्रेसले पनि बरदान दिएर पठाएको छ, चुनाव फेरि जित्ने मेरो हिम्मत बढेको छ ।’

उनले माओवादी केन्द्रले कैयन पटक पार्टी सिद्धान्त भुलेको आरोप लगाए । ‘कहिले कांग्रेसको बुई चढ्ने, कहिले एमालेलाई अंकमाल गर्ने यो कस्तो नीति हो ?’, उनले भने, ‘नक्कली वामपन्थीको पर्दाफास भएको छ, अब चुनाव जित्छु भनेर नसोचे हुन्छ ।’

उनले राप्रपा (प्रजातान्त्रिक) र कांग्रेसबीचको गठबन्धन प्राकृतिक भएकाले विगतमा महानगर चुनावमा माओवादीले गरेजस्तो धोका आफुबाट नहुने प्रतिबद्धता जनाए ।