
‘अवामी इत्तेहाद’ २३ दल समेटिएको गठबन्धनमा सम्लग्न रहेको केही दलले आफूहरू यसबाट अलग रहेको जनाएपछि मुशर्रफले निकै आशाका साथ गठन गरेको राजनीतिक संगठन कमजोर बनेको छ ।
गठबन्धनका महत्वपूर्ण शक्ति मानिएका दल पाकिस्तान आवामी तेहरिक र मजलिस वाहदत–ए–मुश्लिमीनले आफूहरू पूर्व सैनिक शासक मुशर्रफको गठबन्धनमा रहन शनिबारै अस्वीकार गरेको पाकिस्तानी सन्चारमाध्यमले जनाएका छन् ।
संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबइमा भिडियो सम्मेलनमार्फत गत शुक्रबार ७४ वर्षीय मुशरफले सबै मुहाजीर समुदायलाई प्रतिनिधित्व गर्ने राजनीतिक दल एक हुनुपर्ने भन्दै गठबन्धनको घोषणा गरेका थिए ।
मुशर्रफले नेतृत्व गरेको पाकिस्तान अवामी इत्तेहाद गठबन्धनको महासचिवमा इकवाल दार रहेका छन् ।
मुहाजीर समुदायका मुशर्रफ गतवर्षको मार्चमा पाकिस्तानी गृहमन्त्रालयले देश छोड्न नपाउने सूचीबाट हटाएपछि उनी यूएईमा बस्दै आएका थिए ।
उर्दू भाषा बोल्ने मुहाजीर समुदाय स्वतन्त्रतापछि भारतबाट पाकिस्तान गएका थिए । सन् १९९९ मा शान्तिपूर्ण रक्तपाविहीन राज्य विद्रोह गरी सेना प्रमुखबाट पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मुशर्रफले अहिलेको अवस्थामा पाकिस्तानी अदालत पूर्व प्रधानमन्त्री नवाज शरीफको नियन्त्रणमा नरहेको भन्दै आफूमाथि लगाइएको सबै आरोपको सामना गर्न तयार रहेको बताएका छन् । (रासस/पीटीआई)
प्रतिक्रिया दिनुहोस्