
इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७.३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ३९६ जनाको मृत्यु हुनुका साथै हजारौं मानिसहरु घाइते भएका छन् ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।
एक इरानी सहायता संस्थाले भूकम्पपछि त्यहाँको विद्युत् र सन्चार सेवा अबरुद्ध भएको उल्लेख गर्दै तत्काल करिव ७० हजार मानिसहरुलाई आवास आवश्यक रहेको बताएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेको बीबीसीले उल्लेख गरेको छ ।
इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तिमा पनि ८ ओटा गाउँमा ठूलो क्षति पुगेको खबर आएको बताएका छन् ।
इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको बताइएको छ ।
भूकम्पले कैयौं घर भत्किएका छन् । भत्किएका भवनको भग्नावशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् ।
इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेष गरी इरानतर्फका आठओटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै, अरु पनि कैयौं गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सन्चार सेवा अवरुद्ध छ ।
भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अवरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ ।
भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिस अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरूमा त्रास फैलिएको बताइएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्