एकपछि अर्को गर्दै उम्मेदवारहरुमाथि विभिन्न समूहले निशाना बनाउन थालेपछि सरकारले सुरक्षा सतर्कता बढाएको दाबी गरेको छ ।
रुकुम र रोल्पामा माओवादी उम्मेदवारलक्षित आक्रमण भएपछि सुरक्षा चुनौती बढेको हो ।
कुनैबेला माओवादी आन्दोलनको उद्गमस्थल मानिएको रोल्पा र रुकुममा माओवादीकै उम्मेदवारमाथि आक्रमण हुन थालेपछि सुरक्षा सतर्कता बढाउन सरकारलाई दबाब बढेको छ ।
निर्वाचन आयोगले सुरक्षा समितिको बैठक नै गरेर सरकारको ध्यानाकर्षण गराइसकेको छ ।
माओवादीकै असन्तुष्ट एक हिस्सा ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले माओवादी केन्द्रका उम्मेदवार रोल्पाका वर्षमान पुन र रुकुमका जनार्दन शर्मामाथि निशाना साँधेको प्रहरीको अनुमान छ ।
लगातार आफ्ना नेतामाथि आक्रमणको निशाना लगाइएपछि माओवादी केन्द्रले सरकारमाथि आलोचना बढाएको छ भने एमाले नेतृत्वले पनि उम्मेदवारको सुरक्षामा चूक हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगले उम्मेदवार, मतदाता र निर्वाचनसँग जोडिएका कुनैपनि घटनामा सुरक्षा कमजोरी नरहोस् भन्दै सबै सुरक्षा निकायलाई सचेत तुल्याएको छ ।
समग्र सुरक्षा प्रणाली परिचालन र अनुगमन गरिरहेको गृह मन्त्रालयले चुनावसँग जोडिएका कुनैपनि विषयमा सुरक्षा चूक हुन नदिने प्रस्ट गरेको छ ।
हरेक मतदातालाई घरदेखि मतदानस्थलसम्म निर्धक्क पुग्ने, भोट हाल्ने र मतगणना नहुँदासम्म सुरक्षा व्यवस्था चुस्त र दुरुस्त पार्ने मन्त्रालयले जनाएको हो ।
यसैका लागि दुवै चरणमा गरी सरकारले करिब तीन लाख सुरक्षाकर्मीलाई मैदानमा उतारेको छ ।
सधैंझैं यसपटक पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान निकायका कर्मचारीहरु सुरक्षाका लागि खटाइनेछन् ।
सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्र पहिचान गरी ती क्षेत्रहरुमा त्यहीअनुसार जनशक्ति परिचालन गरिएको छ ।
पहिलो प्रकृतिको मतदान केन्द्रमा तीनजना प्रहरी र पाँचजना म्यादी प्रहरी, दोस्रोमा ४ प्रहरी र ७ म्यादी, तेस्रो प्रकृतिमा ५ प्रहरी र १० म्यादी प्रहरी खटाइनेछ ।
त्योभन्दा बाहिरी घेरामा आवश्यकतानुसार सशस्त्र प्रहरी र अनुसन्धानका कर्मचारी खटाइनेछ । सबैभन्दा बाहिरी घेरामा भने नेपाली सेना खटिनेछ ।
सबै सुरक्षा निकायले ‘फिल्ड’मा खटाएकाबाहेक केही जनशक्ति अत्यावश्यक प्रयोगका लागि तम्तयार अवस्थामा जगेडामा पनि राख्नेछन् ।
यतिमात्र होइन, नेपाली सेनाले त प्रत्येक ८ ओटा पृतनामा तयारी अवस्थामा हेलिकोप्टर राखिने जनाएको छ ।
नेपाली सेनालाई मतपत्र ढुवानी र मतदानपछि ‘ब्यालेट बक्स’लाई मतगणनास्थलसम्म पुर्याउने जिम्मा पनि दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्