Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


ल्होसारमा प्रदेशका कार्यालय बन्द, केन्द्रका कार्यालय खुलै


0
Shares

प्रदिप पौडेल/ईमेज

पोखरा । गण्डकी सरकारले गुरुङ बाहुल्य प्रदेश गण्डकीमा ल्होसारको विदा दियो । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गराएर प्रदेशभित्र सार्वजनिक विदा दिइएको हो ।

प्रदेश सरकार मातहतका सबै कार्यालयहरु आइतबार बन्द छन् । तर संघ सरकारको मातहतमा रहेका केही कार्यालयहरु चाहीं खुला छन् ।

संघीय सरकार मातहका कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, निर्वाचन, कारागार, नेपाल राष्ट्र बैंक, निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय खोलेर काम गरिरहेका छन् ।

संघीय सरकार अन्तरगतका सबै कार्यालयहरु खुलेको कास्की प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढाले जानकारी दिए ।

‘संघीय सरकार अन्तरगतका कार्यालयमा विदा हुन नेपाल सरकारले विदा दिनुपर्दछ’, उनले भने ‘नेपाल सरकारले विदा घोषणा गरेको छैन ।’

केही दिन पहिले बसेको अन्तरप्रदेश समन्वय परिषको बैठकले प्रदेश सरकारले गरेको विदाको निर्णय संघ मातहतका कार्यालयले पनि मान्नुपर्ने निर्णय गरेका थियो ।

तर त्यो निर्णय मन्त्रिपरिषदबाट पास नभएका कारण प्रदेश सरकारले दिएका विदामा संघीय सरकार अन्तरगतका कार्यालय सञ्चालनमा आएका हुन् ।

गण्डकी प्रदेशमा जनैपुर्णिमा, तीज, ल्योसार लगाएतमा विदाको माग गरेपनि प्रदेश सरकारले दिएको थिएन ।

गण्डकी प्रदेशले दिएको यो पहिलो विदा हो । प्रदेशलाई १ वर्षमा बढीमा ६ दिन विदा घोषणा दिन सक्ने संघीय कानुनमा उल्लेख छ ।