६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल : कांग्रेस ढुक्क, गठबन्धन मख्ख !


0
Shares

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौं पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित भएका थिए । भट्ट विसं २०६४ मा १३०० तथा २०७० मा ८ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित भएका थिए ।

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको कांग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार व्यहोरेको थियो । त्यसकारण पछिल्लो समय कांग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ । यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने कांग्रेसका स्थानीय नेता बताउँछन् ।

लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निभाएको भन्दै डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उनी विजयी हुनेमा ढुक्क छन् । तर, उनलाई विगतमा जस्तो सहज भने छैन । दुई ठूला पार्टीको गठबन्धनका कारण देउवाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताए । ‘प्रधानमन्त्रीज्यू डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै अभिभावक हो ।’ उनले भने, ‘यहाँका मतदाता कहिल्यै कांग्रेसको विपक्षमा हुँदैनन् ।’

पार्टीभित्रको आन्तरिक किचलोका कारण केही स्थानीय तहमा हार ब्यहोरेको उनले स्विकारे । आसन्न निर्वाचनका लागि पार्टी पंक्ति एकढिक्का भएर लागेको मल्लको भनाइ छ ।

‘म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ ।’ मल्लले भने, ‘जिल्लाभर सबै भ्रातृसंगठन चुनावीसभामा खटिएका छन् ।’ उनले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपवाह फैलाएको आरोपसमेत लगाए । ‘चार–चार पटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ ? ।’ उनले भने, ‘हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा कांग्रेसमा आबद्ध हुँदैछन ।’ उनले डडेल्धुरामा कांग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गरे ।

कात्तिक ३० गते प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा आउने कार्यक्रम रहेको मल्लले बताए । उनको पहिलो सम्बोधन जिल्लामा भएपछि विभिन्न जिल्लाका चुनावीसभामा भाग लिने कार्यक्रम तय भएको पार्टीको जिल्ला सभापति एवं उम्मेदवार मल्लले बताए ।

वाम गठबन्धनका नेता स्थानीय तहको जिल्लाको मत परिणामलाई आँकलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । सातओटा स्थानीय तह रहेको जिल्लामा चारवटामा कांग्रेस, दुईओटामा एमाले र एउटा तहमा माओवादी केन्द्रले विजयी भएको थियो ।

वाम गठबन्धनका उम्मेदवार भट्टले चार÷चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यकमात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेल्धुरावासीले यस पटक उनको विकल्प खोज्ने बताए ।

२७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको उनको आरोप छ ।

‘वाम गठबन्धनले यस पटक कांग्रेसलाई पराजित गर्छ,’ उनले भने । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले पाँच वर्षमा गर्ने भट्टको दाबी छ ।

त्यसैगरी, वाम गठबन्धनबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार तथा एमालेका जिल्ला अध्यक्ष डा.तारा जोशीले डडेल्धुरामा यस पटक वाम गठबन्धन जित्ने बताए । ‘धेरै मान्छे तटस्थ र स्वतन्त्र छन्’ उनले भने, ‘उनीहरुले गठबन्धनलाई सहयोग गर्छन् ।’

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसभन्दा आठ हजार मत बढी ल्याएकाले निर्वाचन जित्नेमा वाम गठबन्धनका उम्मेदवार डा.जोशी ढुक्क छन् ।

देउवाका लागि सधैँ गठबन्धनः नेता मल्ल

वाम गठबन्धन पनि डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेसका पार्टी सभापति देउवालाई नै चुनाव जित्न यस पटक कठिन रहेको हल्ला फैलिरहेका बेला कांग्रेस डडेल्धुराले भने त्यसलाई सामान्यरुपमा लिएको छ ।

कांग्रेस जिल्ला सभापति मल्लले देउवाविरुद्ध डडेल्धुरामा सधैँ गठबन्धन हुने गरेको र पटक पटक सफल हुन नसकेको बताए । ‘यस पटक देशव्यापी रुपमा वाम गठबन्धन भएकाले नौलो विषय लागेको हो ।’ सभापति मल्लले रासससित भने, ‘डडेल्धुरामा त २०४८ सालदेखि नै कांग्रेसको विपक्षमा गठबन्धन हुँदै आएको छ ।’

उनले जति गठबन्धन भए पनि डडेल्धुरामा कांग्रेसलाई असफल पार्न सम्भव नरहेको जिकिर गरे । ‘यहाँ धेरै गठबन्धनका पात्र कांग्रेससामु टिक्न सकेका छैनन्,’ उनले भने । गठबन्धनले डडेल्धुरामा देउवाले केही गर्न सकेन भन्नु अनर्गल प्रचारबाजीमात्रै भएको उनको दाबी छ ।

‘सुुदूरपश्चिमको विकास निर्माणमा सभापति देउवाले गरेको योगदान गनेर सम्भव छैन, ’ मल्लले भने ।

यस्तै, डडेल्धुरा शिक्षक संघका अध्यक्ष कर्ण मडै स्थानीय तहमा कांग्रेसको आपसी तालमेलले मात्रै केही ठाउँमा पराजय व्यहोरोको बताउँछन् । आगामी निर्वाचनमा कांग्रेसलाई जितका लागि कुनै समस्या नहुने उनको भनाइ छ । ‘कांग्रेस अहिले आन्तरिक गुटबन्दी हल गरेर चुनावी मैदानमा उत्रेको छ, मतपरिणाम कांग्रेसकै पक्षमा रहन्छ,’ मडैले भने । ११७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा आसन्न निर्वाचनमा ८१ हजार ७०० भन्दा बढी मतदाता रहेका छन् । रासस