Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


ओलीलाई अधिकारीको टक्करः शर्मा, कार्की, सिटौला र लिङ्देन ‘लिगलिगे’ दौडमा


0
Shares

पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालगायतका ‘हेभीवेट’ उम्मेदवारसमेत रहेको झापामा व्यक्तित्वमात्र हैन, चुनावी मुद्दा र प्रचारशैलीका कारण पनि चुनावी भिडन्त निकै रोचक बन्दै गएको छ ।

झापामा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्वसूचना तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीजस्ता हेभीवेटका नेताहरु चुनावी मैदानमा छन् ।

एमाले अध्यक्ष केपी ओली झापाको क्षेत्र नम्बर–५ बाट चुनावी मैदानमा छन् । २०४८ सालदेखि झापाबाटै हरेकपटक निर्वाचन लड्दै आएका ओली एकपटकबाहेक सधैं विजयी बन्दै आएका छन् ।

भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका ओलीको पक्षमा चुनावी माहोल निकै तातेको पाइन्छ ।

ओलीलाई टक्कर दिन नेपाली कांग्रेसबाट प्राध्यापन पेसाबाट भर्खरै राजीनामा दिएर डा. खगेन्द्र अधिकारी उत्रिएका छन् ।

ओलीसँगको प्रतिस्पर्धामा उत्रिन अरु तयार नभएपछि मैदानमा ओर्लिएका अधिकारीले स्थानीय मुद्दालाई प्राथमिकता दिएका छन् ।

झापाको क्षेत्र नम्बर–१ मा हेभीवेटका नेताकारुपमा परिचित माओवादीका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुरेन्द्र कार्कीको प्रतिस्पर्धीकोरुपमा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा रहेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वसभापतिसमेत रहेका नेता शर्मा हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् ।

अघिल्लो संविधानसभाको निर्वाचनमा एमालेका रविन कोइरालासँग ६५९ मतअन्तरले पराजित शर्माले बीपीको सपना साकार पार्न पनि आफ्नो विजय आवश्यक भएको जिकिर गरिरहेका छन् ।

त्यस्तै, झापा क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई राप्रपाका महामन्त्री युवा नेता राजेन्द्र लिङ्देनले कडा चुनौती दिँदैछन् ।

कांग्रेसको साथ नपाएपछि अन्तिम समयमा वाम गठबन्धनको समर्थनमा उम्मेदवार बनेका लिङ्देनको जोड विकासका मुद्दातिर छ ।

झापा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका तर्फबाट मैदानमा उत्रिएकी पवित्रा खरेल मेची अञ्चलबाटै प्रतिनिधिसभा सदस्यका लागि एकमात्र महिला उम्मेदवार हुन् । उनको जोड महिलाका मुद्दासँगै समृद्ध नेपाल निर्माणमा छ ।

उनीसँग प्रतिस्पर्धीकारुपमा नेपाली कांग्रेसका झापा जिल्ला सभापति उद्धव थापा रहेका छन् । थापा संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–४ बाट पराजित भएका थिए ।

त्यस्तै, झापा क्षेत्र नम्बर–४ मा नेकपा एमालेको तर्फबाट युवा व्यवसायी एलपी साँवालाई उम्मेदवार बनाइएको छ । उनीसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट पूर्वजिल्ला उपसभापति देउमान थेवे छन् ।

प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० गरी १५ सिटका लागि कुल १४१ जना उम्मेदवार रहेको झापामा यसपटक पाँच लाख ८५ हजार १६६ मतदाता सहभागी हुनेछन् ।

भिडियो हेर्नुहोस्