
जथाभावीरुपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्दा एन्टिबायोटिक औषधिले काम गर्न छाड्नुका साथै थप समस्यासमेत देखिन थालेको भन्दै चिकित्सकहरुले सचेत हुन आग्रह गरेका छन् ।
यदि तपाइँ चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुन्छ र सन्चो भयो भन्दै औषधिको डोज पूरा नगरी बीचैमा एन्टिबायोटिक औषधि प्रयोग गर्न छाड्ने गर्नुहुन्छ भने विचार पुर्याउनुहोस्, यसले तपाइँको शरीरलाई नकारात्मक असर पुर्याइरहेको हुनसक्छ ।
चिकित्सकहरु मात्रा नमिलाई एन्टिबायोटिक औषधि प्रयोग गर्दा रोगको ब्याक्टेरियाले आफ्नो स्वरुप परिवर्तन गर्ने र त्यो एन्टिबायोटिक औषधिले काम नगरेर बिरामीको मृत्यु हुने खतरासमेत हुने बताउँछन् ।
कुनैपनि रोगको ब्याक्टेरियालाई मार्न र संक्रमण फैलन नदिन एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ ।
तर, चिकित्सको सल्लाह र कुन रोगको लागि कुन एन्टिबायोटिक औषधिको प्रयोग गर्नुपर्छ र कति मात्रा मिलाएर खानुपर्छ भन्ने जानकारीबिना नै एन्टिबायोटिक औषधि प्रयोग गर्ने प्रचलन व्याप्त रहेको पाइन्छ ।
चिकित्सकाअनुसार सही मात्रामा र आवश्यकताबमोजिम तोकिएको समय अवधिसम्म खाने हो भने एन्टिबायोटिकले नकारात्मक असर गर्दैन ।
तर, साधारण रुघाखोकी, घाटी खस्खसाउने, भाइरसले हुने संक्रमणको बेला एन्टिबायोटिक औषधि प्रयोग गर्नु हुँदैन ।
यसैगरी, एचआइभी संक्रमित, क्यान्सर, मधुमेहलगायतका दीर्घरोगी जथाभावी एन्टिबायोटिक प्रयोगबाट बढी जोखिममा हुनेछ ।
हाल विश्वमा एन्टिबायोटिक औषधिले काम नगर्दा प्रत्येक ४५ सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।
यो संख्या अझ बढ्दै गएर सन् २०५० सम्ममा ३ सेकेन्डमा एकजनाको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
हाल कृषि क्षेत्रमा र पोल्टी फर्महरुमा पनि एन्टिबायोटिक औषधिको प्रयोग बढ्दै गएका कारण त्यसको उपभोग गर्दा मानिसको शरीरमासमेत असर देखिन थालेको छ ।
जथाभावीरुपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्दा टिचिङ अस्पतालको आइसीयुमा आउने ७० प्रतिशत बिरामीलाई अधिक मात्राको एन्टिबायोटिक औषधि प्रयोग गर्नुपरेको बताइन्छ ।
औषधि पसलहरुले जथाभावीरुपमा एन्टिबायोटिक औषधि बेचविखन गर्ने गरेका कारण यो समस्याले विकराल रुप लिँदै गएको छ ।
यो समस्या विश्वभरि नै देखिएको भन्दै विश्व स्वास्थ्य संगठनलेसमेत यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सन्चालन गरी सचेत हुन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्