यो क्षेत्रबाट प्रतिनिधिसभातर्फ राजनीतिक दल र स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
काठमाडौंको ७ नम्बर क्षेत्रमा नेकपा एमालेले निवर्तमान सांसद रामवीर मानन्धरलाई अघि सारेको छ भने नेपाली कांग्रेसले यो क्षेत्रमा आफ्ना उम्मेदवार नउठाएर राप्रपाका नेता विक्रमबहादुर थापालाई सहयोग गरेको छ ।
स्थानीय तहको निर्वाचनपछि चर्चामा आएको विवेकशील साझा पार्टीले यो क्षेत्रबाट सन्चारकर्मीसमेत रहेकी अनुपा श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारहरु अहिले चुनावी अभियान लिएर घरदैलोमा व्यस्त छन् । उम्मेदवारी दिएका अधिकांशले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।
एमालेका उम्मेदवार मानन्धरले आफू मतदातामाझ लोकप्रिय भएको र माओवादी केन्द्रसँगको गठबन्धनसमेत रहेकाले जित सुनिश्चित भएको दाबी गरे ।
राप्रपाका उम्मेदवार थापा पनि चुनाव आफूले नै जित्ने दाबी गर्छन् ।
दुई ठूला गठबन्धनका उम्मेदवार मानन्धर र थापाबीच चर्को प्रतिस्पर्धा भइरहेका बेला विवेकशील साझाकी श्रेष्ठले पनि जनताले परिवर्तन चाहेकाले नयाँ पार्टी भएपनि चुनावमा जित्ने आशा राखेकी छन् ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने काठमाडौं–७ मा एमालेबाट उम्मेदवार बनेका मानन्धरको स्थिति निकै मजबुत् देखिएको छ ।
काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ वडा यो क्षेत्रमा छन् । त्यस्तै, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा यो क्षेत्रमा पर्दछन् । नागार्जुनका १, २ र ३ नम्बर वडा पनि यही क्षेत्रमा छन् ।
यी सबै ठाउँको मतअनुसार एमालेले स्थानीय तह निर्वाचनमा १३ हजार ८३५ मत पाएको छ भने कांग्रेसले १२ हजार ६४६ मत पाएको छ । माओवादी केन्द्रले ३ हजार ४४१ मत पाएको छ । राप्रपाले चाहिँ २ हजार १०० मतमात्रै पाएको छ ।
यसरी हेर्दा वाम गठबन्धनसँग १७ हजार २७६ मत छ भने लोकतान्त्रिकसँग चाहिँ १४ हजार ७४१ मत छ । यो क्षेत्रबाट विवेकशील साझा पार्टीले थोरैमात्र मत पाएको थियो ।
कांग्रेसले यो क्षेत्रबाट उम्मेदवारी नदिएकाले एमाले र विवेकशील साझा पार्टीले त्यो मत आफूमा आउने दाबी गरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्