Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


पर्साका चारओटै निर्वाचन क्षेत्रमा त्रिपक्षीय भिडन्त


0
Shares

नेपाली कांग्रेस, वाम गठबन्धन र मधेसी गठबन्धनका उम्मेदवारमात्र नभएर स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएपनि त्रिपक्षीय उम्मेदवारको भिडन्त नै अहिलेसम्म चासो र चर्चाको विषय बनेको हो ।

चारओटै निर्वाचन क्षेत्रमा कांग्रेस, फोरम–राजपा नेपाल गठबन्धन र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पर्सामा चारओटै निर्वाचन क्षेत्रमा ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयकाअनुसार पर्सा क्षेत्र नम्बर–१ मा २२ जना, क्षेत्र नम्बर–२ मा १५ जना, क्षेत्र नम्बर–३ मा १४ र क्षेत्र नम्बर–४ मा १३ जनाको उम्मेदवारी परेको छ ।

वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचओटा क्षेत्रमध्ये तीन सिट जितेर जिल्लामा पहिलो दल बनेका नेकपा एमाले स्थानीय तहमा कमजोर देखिएपनि यसपटक माओवादीको गठबन्धनले एमालेको पकड राम्रो देखिएको चर्चा छ ।

सो निर्वाचनमा दुई सिट हात पारेको कांग्रेसले यसपटक साख जोगाउन राम्रै कसरत गरेको छ ।

स्थानीय तहको निर्वाचनमा राम्रो स्थान प्राप्त गरेको फोरमले यसपटक राजपासँग चुनावी तालमेल गरेकाले उसको पनि बलियो स्थिति देखिन्छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका तर्फबाट निवर्तमान सांसद अनिल रुंगटाको उम्मेदवारीसँगै वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद विचारी यादव र मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार छन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा विचारी यादव एमालेबाट पर्सा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए भने अर्का उम्मेदवार प्रदीप यादव मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी चर्चा बटुलेका उम्मेदवार हुन् ।

पर्सा क्षेत्र नम्बर–१ मा ११ स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ ।

राजपा–फोरम गठबन्धनका उम्मेदवारलाई चुनौती दिन राजपाका महासचिव महम्म कदमरसुल नेपाल संघीय समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रिएका थिए ।

पर्सा क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजयकुमार चौरसियासंगै वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महम्मसलिम मंसुर राजपा र फोरम गठबन्धनबाट विमल श्रीवास्तवको पनि उम्मेदवारी परेको छ । यहाँ एक महिलासहित १५ जनाको उम्मेदवारी परेको छ ।

पर्सा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सुरेन्द्रप्रसाद चौधरी, वाम गठन्धनबाट राजकुमार गुप्ता र मधेसवादी दलबाट फोरम नेपालका हरिनारायण रौनियारको उम्मेदवारी परेको छ ।

करिब ८ महिनाअगाडि नेपाली कांग्रेसबाट फोरम नेपालमा प्रवेश गरेका रौनियारको उम्मेदवारीले पनि क्षेत्र नम्बर–३ को निर्वाचन रोचक हुने भएको हो ।

सात स्वतन्त्रसहित १४ जना उम्मेदवार रहेको क्षेत्र नम्बर–३ मा उम्मेदवारहरूबीच रोचक भिडन्त हुने मतदाताले आंकलन गरे पनि नेपाल संघीय समाजवादीका राजकुमार यादवको उम्मेदवारीले अन्य दलका उम्मेदवारलाई सकस भएको छ ।

सो क्षेत्रमा पोखरिया नगरपालिकाको प्रमुखमा संघीय समाजवादीले नेतृत्व लिएकाले अन्य दलका उम्मेदवारलाई फलामको च्यूरा चपाउनुपर्ने स्थिति रहेको मतदाता शेषमन पण्डितको भनाइ छ ।

अन्य क्षेत्रभन्दा पर्सा क्षेत्र नम्बर–४ विशेष चर्चामा छ । यो क्षेत्रमा प्रभावशाली नेताहरू नेपाली कांग्रेसका रमेश रिजाल, वाम गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, फोरम नेपाल र राजपा गठबन्धनबाट राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भिड्दैछन् । यो क्षेत्रमा उर्मिला अर्यालकै पुरानो प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजाल हुन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा एमाले उम्मेदवार जयप्रकाश थारूसँग अर्याल पराजित भएपनि अहिले गठबन्धनको उम्मेदवार भएकाले उनको अवस्था पनि राम्रो रहेको चर्चा छ ।

राजपा नेपालका सहअध्यक्ष कर्ण समानुपातिकबाट दुईपटक सभासद भइसके पनि यसपटक प्रत्यक्षबाट उम्मेदवारी दिएकाले उनका लागि यो निर्वाचन अग्निपरीक्षाजस्तो भएको छ ।

जिल्लामा चारओटा निर्वाचन क्षेत्रमा दुई लाख ९९ हजार ५४ जना मतदाता छन् । जसमध्ये महिला मतदाता एक लाख २४ हजार ४०९ र तेस्रोलिंगी १६ जना छन् ।

पर्सा जिल्लामा रहेका १६७ मतदानस्थलमध्ये ७६ मतदानस्थल अतिसंवेदनशील, ६९ मतदानस्थल संवेदनशील र १५ ओटा मतदानस्थल सामान्य मानिएको छ ।

यसैबीच, आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै संघीय प्रहरी कार्यालयले भारतसँग सीमा जोडिएका पर्सा, बारा, रौतहटलगायत जिल्लामा कडाइ गरेको छ ।

भारतसँग पर्सा, बारा र रौतहट जिल्लाका झन्डै दुई दर्जन सीमानाका तथा चेकपोस्टमा सुरक्षा चुनौती देखिएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।

सीमा नाकाबाट हुनसक्ने साना हतियारको अवैध ओसार–पसार, भारतबाट आपराधिक व्यक्तिको घुसपैठप्रति सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई सजक बनाइ उच्च सुरक्षा व्यवस्था मिलाइएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सूर्यप्रसाद उपाध्यायले राससलाई बताए ।

भयरहित तथा शान्तिपूर्णरूपमा निर्वाचन गराउने सन्दर्भमा र वरिष्ठ प्रहरी उपरीक्षक उपाध्यायले आपराधिक क्रियाकलापले चुनावलाई असर पार्ने भएकाले नेपाल र भारत सीमानाकामा कडाइ गरिएको बताए ।

सीमानाकामा अन्य सुरक्षाकर्मीबाहेक नेपाल प्रहरीको विशेष ब्यूरोका प्रहरी तैनाथ गरिएको र निर्वाचनको समयमा सीमा क्षेत्रबाट हातहतियार, आपराधिक गिरोह प्रवेश गर्नसक्ने भएकाले यसतर्फ उच्च सतर्कता अपनाई सीमानाकामा कडाइ गरिएको उनले उल्लेख गरे ।

सुरक्षाकर्मीले निर्वाचनको बेला चुनावविरोधी गतिविधि गर्ने समूहमाथि विशेष निगरानी बढाएको छ ।

निर्वाचनलाई भयरहित वातारणमा सम्पन्न गराउन विभिन्न व्यक्तिसँग भएको वैध हतियारसमेत संकलन गर्ने कार्यलाई तीव्रता दिइएको छ ।