
काठमाडौं, पुस १४ । बाराको हलखोरियास्थित बोधीश्रवण धर्म संघले विभिन्न सन्चारमाध्यमहरुमा रामबहादुर बम्जनका विषयमा आएको समाचारप्रति आपत्ति जनाएको छ ।
संघले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै ‘बम्जनद्वारा तीनजना आनी बेपत्ता’ शीर्षकको समाचार बिनाखोजबिन प्रकाशित भएको र सो समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो ।
संघले बम्जनकाबारेमा सत्यतथ्य, वास्तविकता बुझ्न चाहानेहरुका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका संस्थापक अध्यक्ष मणि लामाले तीन आनी बेपत्ता भएकाबारेमा संघ र आश्रमलाई कुनै जानकारी नै नभएको भन्दै उनीहरु आश्रममा प्रवेश भएको रेकर्ड नै नभएको बताए ।
उनले आनीको खोजीकार्यमा संघ र आश्रमले पीडित परिवार र प्रहरीलाई पूरा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
अध्यक्ष लामाले आश्रममा कुनै व्यक्तिलाई राख्दा वा त्यहाँबाट बिदाइ गर्दा परिवारको सहमति लिने गरेको जिकिरसमेत गरे ।
‘लिटिल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट तीनजना आनीहरु बेपत्ता भएको भन्दै उनीहरुको परिवारजनले प्रहरीमा उजुरी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्