६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


प्रदेश–५ मा प्रभावशाली नेताहरु चुनावी प्रतिस्पर्धामा


0
Shares

उम्मेदवारहरु मत माग्न घरघरमा पुगिरहेका बेला मतदाताले पनि विभिन्न माग राखिरहेका छन् ।

प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरु निर्वाचनको मैदानमा उत्रिएर घरघरमा पुग्दै विकास र समृद्धिका योजना सुनाइरहँदा स्थानीयवासी पनि अब मुलुक आर्थिक समृद्धिको बाटोमा लम्कनेमा आशावादी देखिएका छन् ।

तराई, पहाड र भित्री मधेसका १२ जिल्ला समेटिएर प्रदेश नम्बर–५ मा विभिन्न दलका ‘हेभीवेट’ नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनीदेखि कृषि उत्पादनको उर्वरभूमि रहेको ५ नम्बर प्रदेशमा नेपालकै सबैभन्दा ठूलो दाङ उपत्यका र आर्थिक कारोबारको केन्द्र बन्दै गएको भैरहवा नाकासम्म पर्छ ।

दाउन्ने पश्चिमको नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा बाँके र बर्दियासहित तराईका जिल्ला एवं पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र पश्चिम रुकुम क्षेत्र पर्ने ५ नम्बर प्रदेश पर्यटन, विकास र उब्जनीमा अव्बल मानिन्छ ।

२७ लाख ४० हजार ८६४ मतदाता रहेको यो प्रदेशमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ५२ जना प्रतिनिधि प्रत्यक्षतर्फ छानिनेछन् ।

आसन्न निर्वाचनका लागि यो प्रदेशबाट प्रमुख दलका केन्द्रीयस्तरका नेतासमेत चुनावी मैदानमा छन् ।

रुपन्देही क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल चुनावी प्रतिस्पर्धामा होमिएका छन् । क्षेत्र नम्बर–३ मा एमाले उपमहासचिव घनश्याम भुसाल र राप्रपाका नेता दीपक बोहराबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, एमालेका प्रभावशाली नेता शंकर पोखरल दाङबाट प्रदेशसभाका लागि चुनावी मैदानमा छन् भने माओवादीका नेता कृष्णबहादुर महरा दाङ–२ बाट प्रतिनिधिसभामा उठेका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया, एमालेकै सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट चुनाव लड्दैछन् ।

गुल्मी–१ मा एमाले सचिव ज्ञवाली र कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुन चुनावी मैदानमा उत्रिएका छन् ।

रुपन्देहीमा राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लको उम्मेदवारीलाई पनि यो प्रदेशमा विशेष महत्वका साथ हेरिएको छ ।

५ नम्बर प्रदेशमा पनि अयन्त्रजस्तै वाम गठनबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

बुटवल, भैरहवा, नेपालगन्ज, घोराही, लमही, तुलसीपुर, तानसेन यो प्रदेशका ठूला सहर हुन् । यी सहरमा मतदाताको संख्या पनि ठूलो रहेको छ ।

यो प्रदेशका उम्मेदवारहरुले आर्थिक विकासलाई प्राथमिकता दिएका छन् । उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनीसहित विभिन्न क्षेत्रलाई विश्वकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउने घोषणासमेत गरिरहेका छन् ।

मतदाताहरुले पनि आगामी निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा बढ्ने अपेक्षा गरेका छन् । उनीहरुले उम्मेदवारहरुलाई विकास निर्माणलाई प्राथमिकता दिन, पर्यटकीय क्षेत्रकोरुपमा प्रदेश नम्बर–५ लाई विकसित गर्न र रोजगारीका अवसर सिर्जना गर्न सुझाव दिने गरेका छन् ।

यसअघिका निर्वाचनमा विजयी भएर गएपछि जिल्ला नफर्कने गरेको आरोप लगाउँदै नेताहरुलाई अब समग्र प्रदेशको विकासका लागि घोषणापत्रमा उल्लेख भएका विषय पूरा गराउन सचेतसमेत गराउँदै आएका छन् ।

भिडियो हेर्नुहोस्