१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


सर्लाहीका जंगलमा डढेलोको प्रकोप बढ्यो (भिडियो)


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, पुस १४ । देशका विभिन्न ठाउँमा शृंखलाबद्धरुपमा आगोलागीका घटनाहरु बारम्बार भइरहँदा केही महिनायता सर्लाहीका वनजंगलमा पनि दैनिकजसो आगोलागी भइरहेको छ ।

दिनहुँजसो आगोलागी भइरहे पनि सम्बन्धित निकायहरुले खासै चासो नदिँदा यस्ता घटना रोकिएका छैनन् । जसले प्राकृतिक सम्पदाको ठूलो क्षति भइरहेको छ ।

सर्लाहीमा केही महिनादेखि साँझपख दैनिकजसो वनमा आगो लागिरहेको देखिन्छ । तरपनि यसतर्फ नियमन र निगरानी नराख्दा बारम्बार यस्ता घटना भइरहेका छन् ।

हरियो वनमा आगो लाग्दा एकातिर वन्यजन्तुको क्षति भइरहेको छ भने अर्कोतिर लाखौंको संख्यामा जडीबुटी र बोटविरुवाहरु ध्वस्त भइरहेका छन् ।

पारिस्थितिक प्रणालीको अनिवार्य शर्त मानिने वनजंगलको संरक्षणका लागि राज्यबाट वर्षेनि करोडौंको लगानी भइरहेको छ । तर, बारम्बार वन–जंगलमा डढेलो लागिरहको विषयलाई भने त्यति गम्भीरताका साथ हेरिएको पाइँदैन ।

उता, लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्का भने आफूहरुले यसतर्फ ठोस कदम चालिरहेको दाबी गर्छन् ।

सतर्क रहँदा–रहँदै पनि कहिले–काहीँ आगोलागी हुनु त स्वाभाविक नै हो । तर, महिनौंदेखि दैनिकजसो आगोलागी हुनुले भने नियोजितरुपमै भइरहेको शंका उब्जेको छ ।

घाँस–दाउरा गर्न जानेहरु तथा वस्तुभाउ चराउने गोठालाहरुको लापरबाहीबाट पनि जंगलमा आगोलागी भइरहेको हुन्छ । त्यस्तै, कतिपयले शिकार गर्ने निहुँमा पनि आगो लगाइरहेका हुन्छन् ।

तर, यसतर्फ कडा निगरानी र कारबाहीको पहल भने भएको देखिँदैन । 

विनाशको कारककारुपमा रहेको आगोलागी सबै मिलेर नियन्त्रणमा लिनुपर्ने  डिभिजन वन कार्यालयका प्रमुख माधवप्रसाद देवको सुझाव छ ।

वनको संरक्षण गर्ने विभिन्न निकाय र समितिहरु छन् । त्यस्तै, हरेक गाउँगाउँमा स्थानीय सरकार भएका छन् ।

यी निकायले यस्ता आपराधिक र छाडा गतिविधिप्रति निगरानी र नियमन नगरे ‘हरियो वन नेपालको धन’ उखानमै सीमित हुनसक्छ ।

भिडियो हेर्नुहोस्