६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


उम्मेदवारलाई सुरक्षा बढाइयो


0
Shares

जिल्ला सुरक्षा समितिले वाम गठबन्धनका उम्मेदवारहरुलाई अंगरक्षकको व्यवस्था गरेको छ ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, प्रदेशसभा ‘ख’का उम्मेदवार नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा ‘क’का उम्मेदवार एमाले जिल्ला अध्यक्ष धनन्ञ्जय दवाडीलाई सुरक्षागार्डको व्यवस्था मिलाइएको हो ।

लमजुङमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईओटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले सुरक्षा ‘थ्रेट’ बढेपछि उम्मेदवारहरुलाई सुरक्षागार्डको व्यवस्था गरिएको बताए ।

जिल्ला सुरक्षा समितिले देवप्रसाद गुरुङलाई तीनजना अंगरक्षक उपलब्ध गराएको छ । जिल्लाबाट खटिएका तीनजना बाहेक गुरुङलाई प्रहरी प्रधान कार्यालयले अरू दुईजना प्रहरी खटाएको छ ।

ठूला उम्मेदवारहरु सहभागी हरेक कार्यक्रममा प्रहरीले बाक्लो उपस्थिति जनाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए ।

सुरक्षा समितिले निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा निगरानी बढाउनुको साथै तीनजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

लमजुङका मतदानस्थलहरूमध्ये १८ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

सुरक्षा विश्लेषणका आधारमा अतिसंवेदनशीलको संख्या थपघट हुनसक्ने प्रजिअ मैनालीले बताए ।

जिल्ला प्रवेश गर्ने ६ ओटा नाकाहरूमा चेकजाँच व्यवस्था गरिएको सुरक्षा समितिले जनाएको छ ।

लमजुङमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।