
जहाँ नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत चुनावी प्रतिस्पर्धामा छन् ।
व्यवस्थित सहरीकरण मुख्य एजेन्डा बनाउँदै दुई नेता चुनावी मैदानमा होमिँदा जनता भने सडक, खानेपानी र फोहोर व्यवस्थापनमा जोड दिइरहेका छन् ।
एमाले र कांग्रेसका उम्मेदवार पोखरेल र डा. महत राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने व्यक्ति हुन् । यो क्षेत्रमा २०६२/०६३ को आन्दोलनपछि भएका दुवै निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो ।
वाम गठबन्धनका उम्मेदवार पोखरेल यसअघि २०६४ र २०७० सालको निर्वाचनमा कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए । तर, पोखरेल यसपटक विजयको माला पहिरिने सुरका साथ मैदानमा उत्रिएका छन् । जबकि, डा. महत यसअघि दुईपटक समानुपातिकबाट सांसद बनेका थिए ।
उनका लागि जनताको बीचमा पुगेर प्रत्यक्ष चुनाव लडेको यो पहिलो अनुभव पनि हो ।
अर्कातर्फ दुवैसँग प्रतिस्पर्धा गर्न विवेकशील साझाका सहसंयोजक उज्ज्वल थापा पनि कस्सिएका छन् । तीनै उम्मेदवार राष्ट्रिय र स्थानीय मुद्दा बोकेर मैदानमा उत्रिएका छन् ।
लोकतान्त्रिक व्यवस्था, स्वतन्त्रता र समृद्ध मुलुक निर्माणका लागि भन्दै कांग्रेसले भोट मागिरहँदा एमाले स्थीर सरकारको मूल एजेन्डा बनाएर घरदैलो गरिरहेको छ ।
दुवै उम्मेदवार बिहान र बेलुका घरदैलो गरिरहेका छन् । काठमाडौंको विकसित मानिने यो क्षेत्रमा घरदैलो अभियान चलाइरहँदासमेत उम्मेदवारहरुले स्थानीय मुद्दालाई प्राथमिकता दिइरहेको भेटिए ।
जमला हात जोडेर मतदाताका घरघर पुगेका उनीहरु ‘तपाइँको घरअघिको सडक राम्रो बनाउँछौं’, ‘खानेपानी व्यवस्थित गर्छौं’ भन्न छुटाउँदैनन् ।
सबै उम्मेदवार आफ्नै जित सुनिश्चित देखिइरहेका छन् । चुनाव अभियानलाई रोचक बनाउन उनीहरु कार्यकर्तासँगै नाचगान गर्न पनि छुटाउँदैनन् ।
कार्यकर्तालाई ऊर्जा दिन एमाले महासचिव पोखरेल आफैं पनि नारा लगाउँदै थिए ।
स्थानीय सडक निर्माण, खानेपानी, शैक्षिक गुणस्तर सुधार, छहरे–टोखा सुरुङमार्ग निर्माण र व्यवस्थित सहरीकरण उम्मेदवारका प्राथमिकतामा परेका छन् ।
उता, विकल्पका लागि भन्दै आएको विवेकशील साझाका थापा भने व्यवस्थित बसोबास नै आफ्नो प्राथमिकता भएको सुनाउँछन् ।
राष्ट्रिय राजनीतिका विषयदेखि वाक्क बनेका मतदाता भने स्थानीय समस्यालाई नै प्राथमिकता दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्