
पूर्वप्रधानमन्त्री दाहाल कांग्रेस फकाउँदै छन् भने पाण्डे एमाले फकाउँदै छन् । कांग्रेस र एमालेबाट सो क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवार छैनन् ।
आफ्नो गठबन्धनबाहिरको मत तान्नसकेमा जित सुनिश्चित हुने भन्दै उनीहरु एक–अर्काको गठबन्धनबाट मत तान्न लागिपरेका हुन् ।
कांग्रेसनिकट बुद्धिजीवी प्रा. डा. सूर्यकान्त घिमिरे माओवादी अध्यक्ष दाहालकी पुत्री रेणुलाई भरतपुर महानगरमा प्रमुख बनाउँदा कांग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्नसक्ने अपेक्षा दाहालको रहेको बताउँछन् ।
तर, कांग्रेस झन् बढी चिढिएकाले दाहालको त्यो अपेक्षा पूरा हुने घिमिरे सम्भावना कमै देख्छन् ।
कांग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेका थिए । पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुस्ट बनेका एमालेका केही मत पाण्डेले पाउनसक्ने घिमिरे बताउँछन् ।
वाम बुद्धिजीवी रमाकान्त सापकोटा दाहालले कांग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने अनुमान गर्छन् । परिणाम भविष्यवाणी गर्न नसकिएपनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उनी बताउँछन् ।
स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा दाहाललाई मतदान गर्ने उनले बताए ।
भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित बनेका एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले दाहालको चुनावी प्रचारमै छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावीसभाहरुमा कांग्रेसलाई फकाउनमै समय बिताउने गरेका छन् । अधिकांश उनको भाषणमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको उद्देश्य प्राप्तिका लागि आफू लागिपरेको बताउँदै आएका छन् ।
शान्ति–सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू भएको भन्दै उनले अर्काे हस्ताक्षरकर्ता कोइरालाको सपना आफैंलेमात्रै साकार गर्नसक्ने भन्दै भोट माग्दै आएका छन् ।
कांग्रेसप्रति उनको गुनासो छ–‘कि त आफ्नै उम्मेदवार हुनुपथ्र्याे, होइन भने गणतन्त्रविरोधी राप्रपालाई समर्थन गर्न हुँदैनथ्यो ।’
पाण्डे पनि एमाले फकाउनमा आफ्नो समय खर्चंदै आएका छन् । ‘हिजो छोरी जिताउने कांग्रेसलाई छाडेर एमालेको साथ लिन आएका दाहालले एमालेलाई पनि छाड्ने हुँदा सजग हुन’ एमालेलाई पाण्डेले अपिल गर्दै आएका छन् । निर्वाचनपछि दाहालले एमालेलाई छोड्ने पाण्डेले बताउँदै आएका छन् ।
दाहालका मुख्य प्रतिस्पर्धी पाण्डे राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष एवं वन तथा भू–संरक्षण मन्त्री हुन् ।
तत्कालीन क्षेत्र नम्बर–४ र ५ मिलाएर बनाएको हालको क्षेत्र नम्बर–३ मा पाण्डे पुनः कांग्रेसको समर्थनमा निर्वाचन लड्दैछन् ।
वि.सं. २०७० मा तत्कालीन क्षेत्र नम्बर–४ मा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी भएका थिए । कांग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आएका हुन् । तत्कालीन क्षेत्र नम्बर–५ बाट पाण्डे विजयी भएका थिए ।
वि.सं. २०७० को निर्वाचनमा कांग्रेस र राप्रपाले एक/एक सिट जितेका थिए ।
तर, गत स्थानीय निर्वाचनमा भने यो ठाउँमा वामपन्थीहरुले प्राप्त गरेको मत धेरै छ । क्षेत्र नम्बर–३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् ।
गत स्थानीय तहको १९ वडाको मत हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडामध्ये पाँचओटा एमालेले, तीनओटा माओवादी केन्द्रले तथा ११ ओटा वडा कांग्रेसले जितेको छ ।
भरतपुर महानगरका १९ ओटा वडामा माओवादीको मत १३ हजार ६३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत तीन हजार ८७२ थप्दा १७ हजार ५०८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १३० र माडी नगरपालिकाको मत तीन हजार ८२६ थप्दा २४ हजार ९५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४६४ हुन्छ ।
यता, भरतपुर महानगरका १९ ओटा वडाको कांग्रेसको मत २३ हजार २३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत तीन हजार ८२९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३४१ जोड्दा ३५ हजार ३०७ हुन्छ ।
वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ ।
स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । पछि थप भएका मतमध्ये क्षेत्र नम्बर–३ मा बढी भएको भनिएपनि छुट्टिन सकेको छैन । समग्र मतलाई हेर्दा दुवै उम्मेदवार तेस्रो र चौथो दलकारुपमा रहेका छन् । पहिलो कांग्रेस छ भने दोस्रो एमाले छ ।
वाम गठबन्धनको मत सुरक्षित गर्नसके दाहाल विजयी हुने देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको मत सुरक्षित गर्दै एमालेका मत तान्नसकेमा पाण्डे विजयी हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्