
तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँचपटक चुनाव जितेका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एकपटक तत्कालीन नेकपा माओवादी तथा एकपटक नेकपा एमालेका उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली कांग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रका धेरै चुनाव व्यहोरेका नवलपुरका बासिन्दाकाअनुसार राणाले केही चमत्कारै गरे भनेमात्र जित हुने नत्र वाम गठबन्धनका उम्मेदवार हावी हुने बताउँछन् ।
वि.सं. २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीका दावा तामाङसँग पराजय भोगेका राणा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग दुई हजार ५०० मतान्तरले पराजित भए ।
पाँचपटकको लगातारको जितपछि दुईपटक पराजय भोगेपछि राणा सिन्धुपाल्चोकमा चुनाव लड्न फर्कंदैनन् भन्ने आँकलनविपरीत कांग्रेसको समर्थन लिएर पुनः मैदानमा उत्रिएपछि सिन्धुपाल्चोक–२ को चुनाव फेरि रोचक बनेको छ ।
चुनावी घरदैलोकाबीच रासससँग कुरा गर्दै शेरबहादुर तामाङले अहिले वामपन्थी गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनकोभन्दा १० हजार बढी रहेको र राणालाई २० हजार मतान्तरले पराजित गरिने जिकिर गरे ।
‘वाम गठबन्धन गणितीय हिसाबमा पनि अगाडि छ, योपाला राणालाई हराएर हारको ‘ह्याट्रिक’ चखाइन्छ’–उनले भने ।
सिन्धुपाल्चोक–२ मा स्थानीय तहको चुनावअनुसार पहिलो शक्ति रहेको एमाले र तेस्रो शक्ति रहेको माओवादीबीच तालमेल छ ।
त्यस्तै, दोस्रो शक्ति रहेको कांग्रेस र चौथो शक्ति रहेको राप्रपा प्रजातान्त्रिकको अर्को गठबन्धन छ ।
सिन्धुपाल्चोक–२ मा मेलम्ची नगरपालिका र चौतारा–साँगाचोक नगरपालिकाका केही वडा तथा हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका पर्छन् ।
तीमध्ये हेलम्बु र इन्द्रावती गाउँपालिका कांग्रेसले तथा मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकामा एमालेले जितेको छ ।
स्थानीय तह निर्वाचनमा एमालेले २६ हजार ५७० मत, कांग्रेसले २१ हजार ४८२, माओवादी केन्द्रले १४ हजार २७० र राप्रपाले ९ हजार मत पाएका थिए । यसरी हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा करिब १० हजार मतले अगाडि छ ।
नेता राणा स्थानीय तहको निर्वाचनको मतलाईमात्र हेर्न नहुने बताउँछन् । रासससँग टेलिफोनमा कुरा गर्दै राणाले पञ्चायतकालदेखि सिन्धुपाल्चोकको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेकाले यसपटक सिन्धुका जनताले विवेक प्रयोग गर्ने जिकिर गरे ।
उनले भने–‘कांग्रेससँग गठबन्धन बनेपछि हामी बलिया छौं, चुनाव जित्छौं ।’
निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा टहरामा बसेका भूकम्पपीडितको भने आक्रोश छुट्टै छ । दुवै नेताले भूकम्पपछि जिल्लामा केही गर्न नसकेको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्