Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


‘चितवनमै अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला, शिलान्यास माघभित्रै’


0
Shares

राजु चौधरी (इमेज)

चितवन, पुस १३ । लामो समयको प्रयासपछि अन्ततः चितवनमै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने पक्का भएको छ ।

जग्गाको विषयमा रहेको विवाद टुंगिएपछि चितवनमै रगंशाला निर्माण हुने पक्का भएको हो ।

भरतपुर महानगरपालिका–१६ मा रहेको जग्गाको विषयमा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयु)  र भरतपुर महानगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएपछि विवाद टुंगिएको हो ।

जग्गाको समस्या समाधान भएसँगै सोही क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माण गरिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् ।

‘जग्गाको विषय अब टुंगो लाग्यो । माघ महिनाभित्रमै शिलान्यास गर्ने तयारीमा छौं’–उनले हामीसित भनिन् ।

यसअघि, भरतपुर महानगरपालिकाले सो जग्गाका लागि एएफयुमार्फत् मन्त्रिपरिषदमा निर्णयका लागि पत्र पठाएको थियो । तर, एएफयुको स्वामित्वमा सो जग्गा नभएपछि त्यो प्रक्रिया पूरा भएन ।

तर, दोस्रो प्रक्रियास्वरुप जग्गामा स्वामित्व रहेको त्रिविसित नै सम्झौता भएपछि प्रक्रिया अघि बढेको मेयर दाहालले बताइन् ।

योसँगै रामपुरमा रहेको २० विगाहा जमिनमा अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको हो ।

रगंशाला निर्माण हुने जमिन त्रिविको नाममा रहेको थियो । अब सो बराबरको भरतपुर महानगरपालिकाले भरतपुर–२० मा रहेको जमिन त्रिविलाई दिने भएको छ । महानगरपालिकाले यसअघि सट्टाभर्ना गर्नेगरी त्यहाँको जग्गा त्रिविलाई दिने निर्णय गरिसकेको छ ।

रामपुरमा रंगशाला निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमति दिइसकेको र शिक्षा मन्त्रालयले पनि सहमति दिने तयारी अन्तिम चरणमा रहेको मेयर दाहालले बताइन् ।

मेयर दाहालले भनिन्–‘चितवनमा रगंशाला बन्ने या नबन्ने भन्ने विषय अब सकियो । रगंशाला निर्माणको प्राविधिक कार्यहरु भइरहेका छन् ।’

उनले रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनसित सहकार्य गरिने जानकारी दिँदै यसका लागि फाउन्डेसनले काम गरिरहेको उल्लेख गरिन् ।

‘हामी धुर्मुस–सुन्तली फाउन्डेसनसँग दोस्रो चरणको छलफल गरिसकेका छौं । उहाँहरुले निर्माण पूरा भएपछि महानगरलाई हस्तान्तरण गर्ने ठोस प्रस्ताव ल्याएपछि हामी सम्झौता गरी अघि बढ्छौं’–उनले भनिन् ।

‘चितवनमै ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला’

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पनि चितवनमै ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला’ निर्माण हुने पक्का भएको बताए ।

हामीसित कुरा गर्दै धुर्मुसले रगंशालाको प्राविधिक कामको प्रक्रिया अघि बढाइएको जानकारी दिए । छिट्टै औपचारिकरुपमै रगंशालाको सबै कामबारे घोषणा गरिने उनले बताए ।

‘रंगशाला बन्ने निश्चित बनेको छ । अहिले सबै कुरा नभनौं । छिट्टै औपचारिक घोषणा गर्दैछौं’–उनले भने ।

यस्तो छ अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ‘फिल्ड’

अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माण हुने क्षेत्र चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१६ मा पर्दछ ।

हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गरेको सो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको भेटेनरी संकायको पश्चिमतर्फ खाली रहेको जमिनमा अब रगंशाला बन्ने निश्चित भएको जनाइएको छ ।

क्रिकेट मैदान निर्माणका लागि आवश्यक भनिएको २५ विगाहा जग्गा यस क्षेत्रमा प्रयाप्त छ । यो जमिनलाई रंगशालाको स्वरुपमा बदल्न भने धेरै मिहिनेत र खर्च गर्नुपर्ने देखिन्छ ।

‘लो ल्यान्ड’ भएका कारण बढी पुर्नुपर्ने आवश्यकता अहिलेको फिल्डमा गएर हेर्दा देखिन्छ । कतै उच्च त कहीँ घोलजस्तो जग्गा छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको दक्षिणी पश्चिमी क्षेत्रमा रहेको यो मैदानको बाहिर पातलो मानवबस्ती छ ।