
अघिल्ला निर्बाचनमा झैं यस पटक पनि उम्मेदवारहरु स्वास्थ्य, शिक्षा, रोजगारी, सडक विस्तार र कृषिलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
तर मतदाताले भने अझै उम्मेदवारका आश्वासनमा विश्वास गरिरहेका छैनन् ।
धनकुटाको चौबिसे गाउँपालिका–४ भैंसेटारका बासिन्दालाई २०४८ सालदेखिका निर्वाचनमा आउने हरेक उम्मेदवारले स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सडक विस्तार र कृषिमा सहयोगको आश्वासन दिँदै आएका छन् ।
यहाँका बासिन्दाको माग पनि तिनै हुने गरेका छन् । तर चुनावी नारामा पर्ने स्थानीयका एजेन्डा अहिलेसम्म सम्बोधन भने नभएको स्थानीय राजन माझी बताउँछन् ।
भैंसेटारका बासिन्दा अझै पनि खोलाको दुषित पानी पिउन बाध्य छन् । माध्यमिक शिक्षा र सामान्य उपचारका लागि घन्टौंको दुरी तय गर्नुपर्ने बाध्यता छ ।
त्यस्तै यहाँ न कुनै आधुनिक कृषि फार्म छ त न बा¥है महिना यातायातका साधन चल्न सक्ने सडक छ ।
खानेपानी शिक्षा, स्वास्थ्यलगायत हरेक कुराबाट आफूहरु टाढै रहनुपर्ने बाध्यता रहेको स्थानीय शिक्षक नगेन्द्र घिमिरे बताउँछन् ।
भैंसेटारमा अधिकांश माझी र केही तामाङ समुदायको बसोवास छ । हरेक कुरामा पछि परेका स्थानीयलाई २०४८ सालको निर्वाचनदेखि नै सबै उम्मेदवारले माग पूरा गर्ने आश्वासन दिइरहेका छन् ।
भोट माग्ने बेलामा मात्रै आफूहरुले आश्वासन पाउने गरेको र त्यसपछि फर्केरसमेत नहेर्ने गरेको गुनासो स्थानीयको छ । भैंसेटार त एउटा उदाहरण मात्र हो ।
धनकुटाका क्षेत्र ठाउँमा यस्तै गुनासा सुनिने गरेका छन् । त्यसैले राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचनका बेला पूरा गर्न सक्ने बाचा मात्र गरे जनप्रतिनिधिप्रति मतदाताको विश्वास पनि बढ्ने थियो कि ?
प्रतिक्रिया दिनुहोस्