१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


तेह्रथुम–संखुवासभा क्षेत्रमा बाक्लो हिमपात (८ तस्वीर)


0
Shares

प्रकाश धौलाकोटी (इमेज)

तेह्रथुम, पुस १३ । वर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

शुक्रबार मध्याह्नबाट हिमपात सुरु भएपछि तीनजुरे–मिल्के–जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका हुन् ।

यो क्षेत्रमा वर्षासँगै सिजनमै पहिलोपटक हिमपात भएको हो । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ ।

तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ ।

यी क्षेत्रमा अघिल्ला वर्षहरुमा योभन्दा ढिलोमात्रै हिमपात हुने गरेको थियो ।

पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका वसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सीलगायत क्षेत्रमा पनि हिमपात भएको छ ।

चौकीदेखिमाथिको क्षेत्रमा शुक्रबार दिउँसो दुई फिटसम्म हिमपात भएको गुफाबजारस्थित गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् ।

दिउँसोदेखि उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । हिउँ खेल्न जिल्लाका तल्लो क्षेत्र र धनकुटा, धरानदेखिसमेत सयौंको संख्यामा व्यक्तिहरु पुगेका छन् ।

किसान हर्षित

एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको छ । चिसोका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कस्टकर बनेको छ ।

वर्षाले जिल्लाका किसानलाई भने हर्षित बनाएको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदेबाली लगाउन नपाएका किसानलाई वर्षाले बाली लगाउन सहज हुने भएको छ ।