Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


चन्द्रनगर गाउँपालिकाको उदाहरणीय अभियान, छोरीको जीवनस्तर सुधार गर्ने लक्ष्य (भिडियो)


0
Shares

प्रकाश मैनाली 

सर्लाही, पुस १३ । नेपाली समाजमा छोराको तुलनामा छोरीलाई कम महत्व दिने सोचाई अझै देखिन्छ । त्यसको सशक्त प्रतिबिम्ब तराई मधेस क्षेत्रमा अझ बढी देखिन्छ ।

छोरीलाई कम पढाउने र सानै उमेरमा विवाह गरिदिने परम्पराले अधिकांशलाई अझै छाडिसकेको छैन । यहीँ समस्यालाई दृष्टिगत गरेर सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ‘शिक्षित छोरी, उमेर पुगेकी बुहारी र स्वच्छ तथा समुन्नत गाउँपालिका’ अभियान चलाएको छ ।

नारी दिवसको दिनबाट सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सो अभियान चलाइरहेको छ । यस अभियानमा सहभागी हुन सार्वजनिक या निजी जग्गामा ५ वटा बिरुवा रोप्नुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने हुन्छ ।

२०७५ साउन १ गतेदेखि जन्म भएका बालिकाको नाममा बैंकमा खाता खोली गाउँपालिकाले २० हजार, अभिभावकले ५ हजार र खाता खोलिने बैंकले २ हजार गरी जम्म २७ हजारको मुद्दती खाता खोल्ने व्यवस्था गरिएको छ । तर विद्यालय शिक्षा पुरा नगरेका तथा २० वर्षभन्दा कम उमेरका बालिकालाई विवाह गरिदिए उक्त रकम गाउँपालिकाको नाममा जानेछ ।

छोरीलाई शिक्षित, उपयुक्त उमेरमा विवाह र गाउँपालिकालाई हराभरा गराउने उद्देश्यले यो अभियान चलाइएको गाउँपालिकाका कार्यकारी अधिकृत टेकप्रसाद भट्टराईको भनाइ छ ।

गाउँघरमा छोरीलाई नपढाउने र कम उमेरमा बिहे गर्ने परम्परालाई तोड्नका लागि यस्तो नीति गाउँपालिकाले लागु गरेको गाउँपालिका अध्यक्ष महेन्द्र महतो बताउँछन् ।

अर्कोतिर यस अभियानले स्थानीयवासीमा समेत उत्साह पलाएको छ । आफूहरुले पढ्न नसके पनि छोराछोरी पढाउन यस अभियानले ठूलो सहयोग गर्ने स्थानीयको विश्वास छ ।

यस अभियानलाई सफल बनाउन नेपाल बंगलादेश बैँक लिमिटेडले पनि केही आर्थिक सहयोग गरेको छ । ज्वलन्त समस्याका रुपमा रहेका दाइजो प्रथा, छोराछोरीबीचको विभेद लगायतका समस्यालाई हल गर्न यस्ता अभियानले पक्कै पनि सहयोग गर्नेछन् ।

भिडियो हेर्नुहोस्