
नेपाली कांग्रेसका रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । दुवै नेता जिल्लामा लोकप्रिय छन् ।
पहिलो चरणअन्तर्गत् ओखलढुंगामा मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार उत्कर्षमा पुगेको छ । कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवारबीच प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा हुँदैछ ।
दुवै नेता जिल्लामा लोकप्रिय रहेकाले कार्यकर्ताले पनि प्रचार–प्रसारलाई तीव्र बनाउँदै लगेका छन् । पार्टीका वरिष्ठ नेताहरुलाई नै जिल्लामा पुर्याएर आफ्नो लोकप्रियता केन्द्रमासमेत रहेको संकेत दुवै नेताले दिएका छन् ।
वाम गठबन्धनका उम्मेदवार सुनुवारले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई ल्याएर सदरमुकाममा चुनावीसभा सम्पन्न गरिसकेका छन् ।
जिल्लादेखि केन्द्रसम्म राम्रो पहुँच बनाएका यी दुईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवारले मतदाता रिझाउन लोकप्रिय एजेन्डा अगाडि सारेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको अधिकांश तयारी पूरा भइसकेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कैलाश केसीले मतपत्र, मतदान सामग्री, निर्वाचन सामग्री सदरमुकाम आइसकेको र मतपत्र सेटिङ गर्ने, प्याकेजिङ गर्ने काम भइसकेको बताए ।
७ ओटा गाउँपालिका र एक नगरपालिका रहेको ओखलढुंगामा निर्वाचन सुरक्षाका लागि ५३७ जना म्यादी, ५५९ जना नेपाल प्रहरी र २३७ जना शसस्त्र प्रहरी गरी कुल १ हजार ३५३ जना सुरक्षाकर्मी खटाइने सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले जानकारी दिए ।
उम्मेदवारहरुले प्रचार–प्रसारलाई तीव्र पारिरहँदा आचारसंहिता उल्लंघनका उजुरीहरु पनि आएका छन् ।
जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले सामान्य प्रकृतिका आचारसंहिता उल्लंघनका उजुरी दर्ता भएको बताए ।
१ लाख २ हजार २५० मतदाता रहेको ओखलढुंगामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सदस्यका लागि २२ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्