१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


अचानक राजीनामा घोषणा गरेका लेबननी प्रधानमन्त्री हरिरी बेरुत फर्किए


0
Shares

साउदी अरबबाट दुई हप्ताअघि राजीनामा घोषणा गरेका उनलाई बेरुत अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा सुरक्षा फौजका सदस्यले स्वागत गरेका थिए ।

रियाद भ्रमणकाक्रममा हरिरीले राजीनामा घोषणा गरेपछि लेबननमा राजनीतिक संकट निम्तिएको थियो ।

इरानसँगको क्षेत्रीय शक्ति संघर्षको एउटा पाटोकोरुपमा साउदी अरबले राजीनामा दिन बाध्य पारेको भन्ने आशंकालाई हरिरीले अस्वीकार गर्दै आएका छन् ।

लेबननका राष्ट्रपति मिसेल अनले हरिरी उपस्थित नहुन्जेल राजीनामा स्वीकृत नगर्ने भन्दै अस्वीकार गरेकाले अब के हुन्छ भन्ने चासो बढेको छ ।

गत शनिबार फ्रान्स पुगेका हरिरीले फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोंसँग भेटवार्ता गरेका थिए । माक्रोंले लेबननको गतिरोध अन्त्यको निकास खोज्नका निम्ति मध्यस्थता गर्ने प्रयास गर्दै आएका छन् ।

लेबननमा बुधबार स्वतन्त्रता समारोह मनाइँदैछ ।

बेरुत विमानस्थलमा ओर्लंदै उनले लेबननका जनतालाई धन्यवाद दिए । त्यसपछि उनले सन् २००५ मा हत्या गरिएका आफ्ना बुबा रफिक अल–हरिरीको चिहाननजिक पुगेर प्रार्थना गरेका थिए ।

साउदी अरबको भ्रमणमा रहेकै समयमा उनले आफ्नो ज्यानको खतरा बढेको भन्दै नोभेम्बर ४ मा अचानक राजीनामा घोषणा गरेका थिए । (एजेन्सी)