५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


उम्मेदवार हुल बाँधेर चुनावी अभियानमा, मतदाताको सहभागिता न्यून


0
Shares

विगतका निर्वाचनमा दोलखा सदरमुकाम र अरु ठाउँका मुख्य बजारहरुमा चहल–पहल निक्कै हुने गरेकोमा योपटक उम्मेदवार र आसेपासे चढ्ने गाडीले निर्वाचन चिह्नअंकित झन्डा हल्लाउँदै र धुलो उडाउँदै दौडिनेबाहेकको माहोल आउन नसकेको मतदाताहरु बताउँछन् ।

ग्रामीण क्षेत्रका मतदाताहरुले पनि चुनावलाईभन्दा आफ्नो दैनिकीलाई महत्व दिएकाले उम्मेदवारहरु मत माग्न खेतबारी र घर निर्माण भइरहेको ठाउँमा पुग्न बाध्य छन् ।

दोलखाको विभिन्न ग्रामीण क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनले आयोजना गरेको चुनावीसभाहरुमा उम्मेदवारसँग ४०/५० जना पछि लागेर जाने तर मतदाताहरु भने १५/२० जना सहभागी गराउन पनि कठिन हुने गरेको पाइएको छ ।

नजिकै दलको चुनावीसभा भइरहँदा बारीमा कोदो टिप्न व्यस्त दोलखा, कालिञ्चोक गाउँपालिका वडा नम्बर–९ सुन्द्रावतीकी पुतली थामीले पटक–पटक भोट हालेपनि नेताहरुले दिएको वचन पूरा नगर्ने भएकाले योपटकको चुनावमा खासै चासो नभएको बताइन् ।

चुनावीसभामा जान छाडेर दाइँ गर्न व्यस्त सुष्पाक्षमावतीका विष्णु थामीले पनि वर्षभरिको मिहेनत भित्र्याउने बेलामा चुनावीसभातिर दौडन थालियो भने भोक–भोकै बस्नुपर्ने बताए ।

सडक निर्माणमा मजदुरी गर्न व्यस्त क्षमावतीकी सृष्टिका श्रेष्ठ राजनीतिक दलले गरिब, विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरेर कार्यक्रम गर्न नसकेकाले चुनावप्रति ग्रामीण जनताको खासै चासो नदेखिएको बताइन् ।

दोलखामा ९४ ओटा मतदानस्थलमा १९० ओटा मतदान केन्द्र रहेका छन् । सातओटा गाउँपालिका र दुई नगरपालिका रहेको दोलखामा १ लाख ४७ हजार ९२३ मतदाता रहेका छन् ।

यहाँ १५ दल र स्वतन्त्रसहित ३८ जना चुनावी प्रतिस्पर्धा छन् ।

पहिलो चरणअन्तर्गत् दोलखामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि मंसिर १० गते मतदान हुँदैछ ।