बास बस्न कतै केही नभएपछि उनीहरु पुलमुनि यसरी शरण लिइरहेका हुन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको चिसाङ पुल भएर गरीबलाई सम्मृद्धिको सपना बाँड्दै हिँड्ने कयौं उम्मेदवार झण्डावाला गाडीमा सयौं पटक गुडेका छन् । तर त्यही चिसाङको पुल मुनी नौ बर्षदेखि असहाय बनेका आमाछोरी अभाव र दुःखका दिन काटिरहेका छन् । यद्यपि, यिनको उद्धारका लागि कसैको आँखा परेको छैन ।
आफ्नो विगत नै करिब बिर्सिसकेकी कुस्मी उरावका श्रीमानको २०४५ सालमा कुकुरले टोकेर मृत्यु भएको थियो । साविक इन्द्रपुर–७ ठेगाना लेखिएको नागरिकता र एकल परिचयपत्रबाहेक कुस्मीसँग कुनै सरकारी कागजात छैन ।
श्रीमानको मृत्युपछि छरछिमेकीहरुले नै घरजग्गा हड्पेपछि ६१ बर्षीया कुस्मी र उनकी छोरी दयावतीलाई मद्दत गर्ने अब कोही आफन्त बाँकी छैनन् । दयावती जन्मजात बोल्न सक्दिनन् तर इशारामा हिंड्डुल र अह्राएको सामान्य काम गर्छिन् ।
चिसाङ पुलको पूर्वपट्टी उनीहरुले पुलको ढलानलाई छानो र भुईलाई ओच्छ्यान बनाएर बस्दै आएका छन् । कुस्मीले नजिकैको जंगलबाट सालको पत्ता र सिजनमा टुसाउने निगुरो बेचेर पुल मुनीको खुल्ला चुल्होमा पकाउने चामलको जोही गर्दै आएकी छन् ।
दिनरात पुलमुनि सहाराविहीन भएर बस्ने आमाछोरीलाई अहिलेसम्म कुनै सरकारी निकायले उद्धार प्रयास गरेका छैनन् । थोत्रा लुगा, कुच्चिएका भाडाकुडासहित पुलको मुनी गुजारा गर्ने उनीहरुको नाम मतदाता नामावलीमासमेत छैन ।
बर्षायाममा चिसो खोलाको बाढीको पर्वाह नगरी उनीहरु पुल मुनी बस्दै आएका छन् । जीविकोपार्जनका लागि कठिन संघर्ष गरिरहेका असहाय आमा छोरीको सहाराका लागि पूलको माथिबाट गुड्ने उम्मेद्वारको आँखा पर्ला त ?










प्रतिक्रिया दिनुहोस्