
खसीबजारदेखि कलंकी मकालु पेट्रोलपम्पसम्म बन्न लागेको निर्माणाधीन भूमिगतमार्ग आगामी साउन महिनासम्ममा सम्पन्न हुने भएको छ ।
काठमाडौं, कलंकीचोकमा चीन सरकारको सहयोगमा बन्दै गरेको ‘अन्डरपास’ आउँदो वर्षको साउनसम्ममा सम्पन्न भएसँगै प्रयोगकर्ताले सहज महसुस गर्नेछन् ।
दिनहुँ घन्टौं लामो जामको समस्या व्यहोरिहेका सर्वसाधारणले यस समस्याबाट मुक्ति पाउने अपेक्षा त छ नै त्योसँगै भूमिगतमार्गको नयाँ अनुभव पनि गर्न पाउनेछन् ।
कोटेश्वरदेखि कलंकीसम्मको १० दशमलव ३९५ किलोमिटर सडक ८ लेनको बनाउने योजनाभित्र नै कलंकीको भूमिगतमार्ग बनाइएको हो ।
नेपालकै पहिलो भूमिगतमार्ग चीनको सांघाई कन्स्ट्रक्सन कम्पनीले बनाइरहेको छ । यस मार्ग जाने र आउने दुई/दुई लेन गरी चार लेनको हुनेछ । त्यसको दायाँबायाँ दुई/दुई लेनको सहायक सडक पनि बन्नेछ ।
भूमिगत सडकमाथि क्रस गर्ने ८ लेनको बाहिरी सडक बन्दैछ । निर्माणाधीन अन्डरपास बल्खुबाट स्वयम्भूतर्फ जाने सवारी–साधनलेमात्र प्रयोग गर्नेछन् भने एकातिरको सहायक सडक बल्खुबाट थानकोटतिर जान र आउनका लागि प्रयोग हुनेछ ।
अर्कोतिरको सहायक सडक कुलेश्वर–कालिमाटीतर्फ जान र आउन प्रयोग गरिनेछ ।
भूमिगत सडकमाथिको ८ लेन भने थानकोट–कालीमाटी–चक्रपथतर्फ मोडिने सवारी–साधनका लागि हो ।
चक्रपथका सहायक लेनबाट आएका सवारी–साधनले पनि कालिमाटी तथा थानकोटतिर जान उही ८ लेनको सडक प्रयोग गर्न पाउनेछन् ।
२०७२ साल भदौ महिनाबाट सुरु भएको यो योजना यही पुससम्ममा सकाउने बताइएपनि २०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीले गर्दा ढिलो भएको निर्माण पक्षको भनाइ छ ।
६ महिनासम्म अलमलमा परेको काम अहिले भने तीव्रगतिमा भइरहेको छ ।
तोकिएकै समयमा सम्पन्न गर्न चीन सरकारकै प्रविधिक टोली काममा खटिएको छ ।
चीन सरकारको करिब ५ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको यो मार्गको ६० प्रतिशत काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाका सबइन्जिनयर जितेन्द्रकुमार यादवले जानकारी दिए ।
उनले निर्माण गर्ने जिम्मा लिएको सांघाई कन्सट्रक्सन कम्पनीले तोकिएको समयमा नै काम सम्पन्न गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
कलंकीमा दिनहुँजसो हुने ट्राफिक जामको समस्या समाधान गर्न भूमिगतमार्गसहित ८ लेनको सडक निर्माणको योजना ल्याइएको हो ।
यादवले कलंकीमा निर्माणाधीन अन्डरपास सम्पन्न भएपछि कलंकीमा सर्वसाधारणले वर्षौंदेखि भोग्दै आइरहेको ट्राफिक जाम कम हुने बताए ।
प्रतिक्रिया दिनुहोस्