४ असार २०८२, बुधबार | Thu Jun 19 2025


गुल्मीमा एमालेका दुई सचिवसँग कांग्रेसका दुई ‘चन्द्र’को प्रतिस्पर्धा


0
Shares

क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ एमालेका सचिव प्रदीप ज्ञवालीसँग कांग्रेसका नेता चन्द्र भण्डारी र क्षेत्र नम्बर–२ मा एमालेका सचिव गोकर्णराज विष्टसँग कांग्रेसका चन्द्रबहादुर केसीको प्रतिस्पर्धा हुँदैछ ।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मुख्यगरी वाम गठबन्धन र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनको मतपरिणाम जोड्दा वाम गठबन्धनको स्थिति मजबुत् भएकाले एमाले र माओवादी केन्द्रका कार्यकर्ता उत्साहित छन् भने कांग्रेसका कार्यकर्ता विगतमाजस्तो अन्तरघातमा नलागी मतदाता फकाउनमा व्यस्त छन् ।

जिल्लामा कुल एक लाख ९६ हजार ३४२ मतदाता रहेको क्षेत्र नम्बर–१ मा एक लाख तीन हजार तथा क्षेत्र नम्बर–२ मा ९४ हजार मतदाता छन् ।

क्षेत्र नम्बर–१ मा स्थानीय तहमा प्राप्त मतका आधारमा कांग्रेसभन्दा वाम गठबन्धन १२ हजारभन्दा बढी मतले अगाडि छ ।

एमाले उम्मेदवार ज्ञवाली पूर्वसांसदका साथै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् भने भण्डारी निवर्तमान सांसद हुन् । दुवै बौद्धिक र सरल नेताकारुपमा चिनिन्छन् ।

राष्ट्रिय जनमोर्चाले ज्ञवालीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेसँगै भण्डारीलाई थप चुनौती थपिएको छ ।

नेता ज्ञवालीले विगतमा सुरु गरेका रेसुंगा विमानस्थलजस्ता विकासका कार्यक्रममा बजेट कम पठाएर कांग्रेसले पूर्वाग्रह गरेको तर जिल्लाको विकास आफूले गरेको भनी प्रचार गरिएको दाबी गर्छन् ।

नेता भण्डारीले भने आफूले विकासका काम व्यापक गरेकाले त्यसको प्रचार हुनु स्वाभाविक भएको तर्क गर्छन् ।

क्षेत्र नम्बर–२ मा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री विष्ट र कांग्रेसका पूर्वजिविस सभापति केसीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विष्ट निवर्तमान सांसदका साथै स्थानीय तहमा भिजेको नेता मानिन्छन् ।

यस क्षेत्रमा पनि स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनको मत १३ हजारले अघि देखिएकाले गठबन्धन ढुक्क देखिएको छ ।

विष्टले त त्योभन्दा बढी मतान्तर ल्याउने उद्घोष गर्दै आएका छन् । सचिव विष्ट आफूसँग कसैको प्रतिस्पर्धा नभएपनि जनतासँग प्रत्यक्ष भेट्न र उनीहरुका कुरा सुन्नका लागि घरदैलोमा रहेको बताउँछन् ।

कांग्रेसका उम्मेदवार केसी भने लोकतन्त्र र समृद्धिका लागि आफू विजयी हुनुपर्ने जिकिर गर्छन् ।

विष्टले आफ्नो क्षेत्रमा सबै परिवारमा निःशुल्क बाख्रा वितरण, घरघरमा पानी र बिजुली उपलब्ध गराउनुका साथै क्षेत्रभरिका सबै घर एउटै रङको टिनको छानायुक्त बनाउने घोषणा गरेका छन् ।

क्षेत्र नम्बर–१ को प्रदेशसभामा वाम गठबन्धनबाट सुदर्शन बराल र कमलराज श्रेष्ठ तथा कांग्रेसबाट पृथ्वी फौजदार र धनेन्द्र कार्की उम्मेदवार छन् ।

क्षेत्र नम्बर–२ को प्रदेशसभामा वाम गठबन्धनबाट खड्गबहादुर खत्री र दिनेश पन्थी तथा कांग्रेसबाट शालिक पन्थी र छन्द पहराई उम्मेदवार रहेका छन् ।

निर्वाचनका लागि मुख्य दलले तानसेन–रिडी–तम्घास सडक तथा रिडी–रुद्रवेणी–वामीटक्सार सडक कालोपत्र, कालीगन्डकी करिडोर, रेसुंगा विमास्थलमा परीक्षण उडान, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने जनाएका छन् ।

जिल्लामा स्वतन्त्रसहित ९ दलका गरी ५२ उम्मेदवार चुनावी मैदानमा छन् ।