
पहिलो चरणअन्तर्गत् आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा शनिबार बम विस्फोट भएको प्रहरीले बताएको छ ।
मतदान गर्ने मतदाताका लागि लाइन मिलाउन बाँस गाड्नेक्रममा भुइँमुनि गाडिराखेको बम विस्फोट भएको सो मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताए ।
ठूलो आवाजसहित बम विस्फोट भएपनि मानविय क्षति भने नभएको तर नजिकै मतदाता परिचयपत्र वितरण गरिरहेका कर्मचारीको श्रवणशक्तिमा भने समस्या आएको अधिकृत नेपालीले जानकारी दिए ।
विद्यालयको भवनअघि खेल मैदानमा म्यादी प्रहरी, कर्मचारीसहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा भुइँमुनि गाडेको बम विस्फेट भएको प्रहरीले जनाएको छ ।
सो बम पहिले नै गाडिएको र अहिले खन्नेक्रममा ‘प्रेसर’ हुँदा पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा सोही स्थानमा मतदाता उभिएर लाइनमा बस्ने गरी केन्द्र निर्माण गरिएको र अहिले पनि सोहीअनुसार मतदान केन्द्र निर्माण हुने अनुमानमा निर्वाचनविरोधी समूहले बम राखेको हुनसक्ने प्रहरी निरीक्षक होमनाथ दाहालले बताए ।
काम गरिरहेको समयमा बम पड्किएपछि सबै काम छाडेर कर्मचारी कार्यस्थलबाट बाहिर निस्किएका छन् ।
बम विस्फोट भएको स्थानको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।
यता, निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ताप्लेजुङ इन्चार्ज आशिषले बम विस्फोटका विषयमा आफूलाई जानकारी नभएको र आफूहरु सो घटनामा संलग्न नभएको टेलिफोनमा बताए ।
प्रतिक्रिया दिनुहोस्