Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


सामाजिक सन्जाल अनुगमन गर्न आयोगको टोली सक्रिय


0
Shares

सदरमुकाम विदुरमा शनिबार आयोजित कार्यक्रममा आयुक्त शर्माले राजनीतिक रुपमा चर्चामा रहेको नुवाकोट राजधानीबाट नजिक भएको र चुनावी मैदानमा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि भएकाले गम्भीरतापूर्वक लिन आग्रह गरिन् ।

जिल्लाको चुनावी तयारी र सुरक्षाको अवस्था जानकारी लिएपछि आफू निर्वाचन शान्तिपूर्ण हुन्छ भन्नेमा ढुक्क भएको बताउँदै आयुक्त शर्माले निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाएर उदाहरणीय काम गर्न सबैसँग आग्रह गरिन् । उनले निर्वाचनसम्पन्न गराउन सन्चारकर्मीले पनि आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताइन् ।

आयुक्त शर्माले मौन अवधिमा पनि सामाजिक सन्जालमार्फत भइरहेको चुनावी प्रचारप्रसारप्रति आयोगको ध्यान गएको र सामाजिक सन्जाल अनुगमन गर्न आयोगको टोली पनि सक्रिय भएको बताइन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लोकजंग शाहले निर्वाचनमा आचारसंहिता उल्लंघनका १२ उजुरी परेकामा छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै मतदानका दिन दुई निर्वाचन क्षेत्रमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा चार अनुगमन टोलीसमेत परिचालन गरिने जानकारी दिए ।

कार्यक्रममा निर्वाचन आयोगको अनुगमन टोलीका संयोजक सहसचिव रामचन्द्र ढकाल, प्रहरी उपरीक्षक वसन्त कुँवर र जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जिल्लाको निर्वाचनको तयारीबारे जानकारी दिएका थिए । रासस