३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


पहिलो चरण निर्वाचनमा कुन नेताले कहाँबाट गरे मतदान ? (भिडियो)


0
Shares

पहिलो चरणमा उम्मेदवार हुनेमा पूर्वप्रधानमन्त्रीदेखि आफूलाई भावी प्रधानमन्त्रीको दावी गर्ने एवं प्रदेश मूख्यमन्त्रीको आकांक्षीसमेत थिए । तिनै शीर्ष नेताहरुले जनताबीचमै पुगेर आफूले पनि मताधिकार प्रयोग गरेका हुन् ।

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट मतदान गरे भने उनकै प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि त्यहीँ मताधिकार प्रयोग गरे ।

प्रतिनिधिसभा सदस्यतर्फ गोरखा–२ का उम्मेदवारसमेत रहेका भट्टराईले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङ मतदान केन्द्रबाट मतदान गर्दा श्रेष्ठले भने गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रवाट मतदान गरे ।

गोरखामै कांग्रेस नेता चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकास्थित भीमोदय उच्च मावि मतदान केन्द्रबाट मतदान गरे ।

आफूलाई भावी प्रधानमन्त्रीको दावी गर्दै मतदातासमक्ष पुगेका नुवाकोटका नेपाली कांग्रेसका दुई नेता डा. रामशरण महत र अर्जुननरसिंह केसीले पनि आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरे । डा. महतले पञ्चकन्या गाउँपालिकाको ठाँटीभञ्ज्याङ तथा केसीले बिदुर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मत दिएका हुन् । नुवाकोटकै लिखु गाउँपालिका महेन्द्र उच्च माध्यामिकबाट राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मतदान गरे ।

सिन्धुपाल्चोकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणााले सुनकोशी गाउँपालिका–२ को महेन्द्रोदय उच्च मावि मतदान केन्द्रमा मत दिए । त्यस्तै सिन्धुपाल्चोकमै माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, कांग्रेस नेता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, एमाले नेता शेरबहादुर तामाङले मत दिए ।

यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ नारायणी उच्च मावि केन्द्रमा मतदान गरे भने राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रवहादुर केसीले बाग्लुङबाट मतदान गरे ।

कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुबाट मतदान गर्दा ओखलढुंगामा कांग्रेस युवा नेता रामहरि खतिवडा र एमाले युवा नेता यज्ञराज सुनुवारले मतदान गरे । खतिवडा र सुनुवार प्रतिनिधिसभाका लागि प्रतिष्पर्धी हुन् ।

रोल्पाबाट माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले मतदान गरे । पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम मुसिकोट नगरपालिका–५ स्थित यमुनानन्द नमूना उच्च माध्यमिक विद्यालयबाट मतदान गरे ।

पाँचथरमा प्रतिनिधि सभाका कांग्रेस उम्मेदवार भिष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिका वडा नम्बर १ स्थित शान्ति क्षेत्र आधारभूत विद्यालयबाट तथा बाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङले फिदिम माविको ‘क’ केन्द्रबाट मतदान गरे ।

जाजरकोटको पिपेस्थित वागेश्वरी निम्न माध्यामिक विद्यालय मतदान केन्द्रबाट माओवादी नेता शक्ति बस्नेतले मतदान गरे ।

भोजुपरमा पूर्व मन्त्री तथा एमाले प्रदेश सभा उम्मेदवार शेरधन राईले आम्चोक गाउँपालिका ३ थिदिगंखास्थित केन्द्रमा मतदान गर्दा एमालेकै अर्का नेता पृथ्वी सुब्बा गुरुङले लमजुङको बुद्धोदय मावि केन्द्रबाट मतदान गरे ।

भिडियो हेर्नुहोस्