
बिहान करीब साढे सात बजे गएको हेलिकोप्टरले फक्ताङ्लुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला प्रावि र याङ्मा आधारभुत विद्यालयको मतपेटिका ल्याएको हो । ४९ मतदाता रहेको ग्याब्लामा २५ मत खसेको थियो भने ५७ मतदाता रहेको याङ्मामा १६ मत खसेको थियो । यी दुबै मतदान केन्द्रका गरी ४१ मत ल्याउन हेलिकोप्टर प्रयोग गर्नु परेको हो ।
ग्याब्ला, याङ्मा, ओलाङ्चुङगोला र घुन्साको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरिए पनि ओलाङ्चुङगोला र घुन्सामा मौसम बदली भएका कारण हेलिकोप्टर बस्न नसक्दा दुई स्थानको मात्रै मतपेटिका सदरमुकाम ल्याईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङस्थित नेपाली सेनाकै गुल्ममा राखिएकाले मौसममा सुधार हुनासाथ ती दुई स्थानको पनि मतपेटिका सदरमुकाम ल्याईने प्रमुख जिल्ला अधिकारी मोहन जीसीले जनकारी दिए ।
आइतबार भएको मतदानमा १३१ मतदाता रहेको घुन्सामा ५९ र २२२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो । चारै स्थानमा जम्मा ४ सय ५९ मतदाता रहेकोमा १ सय ९४ मात्रै मत खसेको थियो ।
हिडेर आउन कम्तीमा चार दिन लाग्ने भएकाले खसेको १ सय ९४ मत सदरमुकाम ल्याउन लाखौं खर्चिएर सरकारले हेलिकोप्टर प्रयोग गर्नुपरेको छ ।
यता १ सय १४ केन्द्रमध्ये चार केन्द्रबाहेक १ सय १० केन्द्रको मतपेटिका भने स्थल मार्गबाट सदरमुकाम आईरहेको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टरबाट ल्याईएका दुई केन्द्रसहित ३८ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आईपुगेको छ ।
हालसम्ममा ७३ स्थलमध्ये २२ स्थानको ३८ केन्द्रको मतपेटिका सदरमुकाम आईपुगेको छ ।
प्रतिक्रिया दिनुहोस्