
आइतबार सम्पन्न निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमाभन्दा कम मत खसेको हो ।
पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तोकिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुई मतदान केन्द्रकोमात्र चुनाव स्थगित भएको छ । समग्रमा पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ ।
तर, यो प्रतिशत स्थानीय तह निर्वाचनभन्दा कम हो । तीन चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तीनै चरणमा ७० प्रतिशतभन्दा बढी मत खसेको थियो ।
प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी ८१ प्रतिशत डोल्पामा र सबैभन्दा कम रोल्पामा ५५ प्रतिशत मतदान भएको छ ।
तर, समग्रमा पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा खसेको मत स्थानीय तह निर्वाचनकोभन्दा कम हो ।
स्थानीय तहको निर्वाचनभन्दा कम प्रतिशत मत खसेपछि निर्वाचनप्रति जनताको उत्साह कम हुँदै गरेको भनेर विश्लेषण गरिँदैछ । तर, निर्वाचन आयोग भने कम प्रतिशत मतदान भएको कुरासँग सहमत छैन ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले फरक निर्वाचनको फरक विशेषता र एजेन्डा हुने भएकाले स्थानीय तह र प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत प्रतिशतलाई तुलना गर्न उपयुक्त नहुने बताउँछन् ।
प्रवक्ता ढकालले मत प्रतिशतभन्दा पनि निर्वाचनमा जनताको सहभागिता मुख्य कुरा हुने धारणा राखे ।
पहिलो चरणमा मतदान भएका जिल्लाहरु उच्च पहाडी र हिमाली भएकाले प्राकृतिक कारणले पनि मत कम खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तराई र पहाडका जिल्लामा हुने भएकाले मत प्रतिशत बढ्ने जनाएको छ ।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको मतगणना मंसिर २१ गतेपछि हुने भएपनि पूर्णसुरक्षा व्यवस्था गरिएकाले मतपेटिकाको सुरक्षाबारे चिन्ता नगर्नसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्