३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


मतदानस्थल र निर्वाचन शिक्षा अपांगमैत्री नभएको गुनासो


0
Shares

सोमबार ई–आइसीटि नेपाल र हाम्राकुरा डटकमले राजधानीमा आयोजना गरेको मतदाता शिक्षासम्बन्धी अन्र्तक्रिया तथा निर्वाचन बहस कार्यक्रममा सरोकारवालाहरु यस्तोखाले समस्या देखिनुमा निर्वाचन आयोग र राजनीतिक दलहरु जिम्मेवार रहेको औंल्याए ।

राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुर्दशन सुवेदीले अपांगता भएको व्यक्तिलाई मतदान गर्ने अधिकार नै नभएजस्तो गरी आयोग र दलहरुले गम्भीर भुल गरेको आरोप लगाए । उनले अपांग, बहिरालगायत अन्य शारीरिक समस्या भएका मतदातालाई समेटने गरी शिक्षा प्रदान नगरेको र मतदान स्थल अपांगमैत्री नबनाएको आरोप लगाए ।

लोकतान्त्रिक अपांग संघका अध्यक्ष भोजराज श्रेष्ठले अपांग, दृष्टिवीहिन, बहिरालगायतका मतदातालाई व्यवहारिक कठिनाई हुँदाहुँदै पनि नीति नै मिचेर आयोगले काम गरिरहेको आरोप लगाए । शारीरिक समस्या भोगिरहेकाहरुलाई मतदान गर्न गम्भीर समस्या भएको उनले बताए ।

त्यस्तै, अपांग समुदायका अभियन्ता विजय बजिमयले मतदान शिक्षा प्रभावकारी नभएको र दलहरुको घोषणापत्र पनि नारामै सिमित भएको बताए ।

नेपाली कांग्रेसका नेता प्रगति रन्जीतले दलहरुबाट कमिकमजोरी भएकाले आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए । उनले आयोगले मतदाता शिक्षामा बजेट न्यून मात्रामा छुट्टाएकाले कार्यक्रम प्रभावकारी नभएको बताए ।

विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठले अपांगलगायत जेष्ठ नागरिकलाई आयोगले नै सचेतना विस्तार गर्न नसकेको बताइन् । दलहरुले घरदैलो कार्यक्रममा मतदाता शिक्षा पुर्‍याउन नसकेको उनको बुझाइ थियो ।

कार्यक्रममा हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीले आफूहरुले देशभर मतदाता शिक्षा कार्यक्रम अघि बढाएको बताउँदै आयोगलाई केही हदसम्म सहयोग पुर्‍याएको बताए ।