निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनाको एकपछि अर्को गर्दै अनुगमन गरेकोमात्र होइन, उल्लंघनकर्ता दलहरुलाई पनि सचेत गराइरहेको छ ।
तर, दलहरुले निर्वाचन आचारसंहिता पालना गर्नेतर्फ कुनै चासो देखाएका छैनन् ।
आयोगले मंगलबार भक्तपुरमा आचारसंहिता पालनाको अवस्था बुझ्न स्थलगत अनुगमन गर्यो । अनुगमनमा निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमन समितिका संयोजक निर्वाचन आयुक्त सुधीरकुमार शाहसहितको टोली संलग्न थियो ।
आचारसंहिताविपरीत निर्वाचन प्रचार सामग्री जहिँतहीँ पाएपछि शाह आफैंले केही ठाउँको सामग्री हटाइदिए । उक्त टोलीले विभिन्न दल र उम्मेदवारले आचारसंहिताविपरीत राखेका तुल, ब्यानर, पर्चालगायतका निर्वाचन सामग्री हटाएको हो ।
निर्वाचन सामग्री हटाउँदै आयुक्त शाहले ‘मतदातालाई प्रभावित पार्ने गरी प्रचार गरिनु आचारसंहिताविपरीत हो’–भने ।
सहर नै कुरुप हुने गरी गरिएका प्रचारप्रति मतदाता स्वयं पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।
केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका शाहले आचारसंहिताविपरीतका सामग्री हटाउन स्थानीय प्रशासन, प्रहरी र निर्वाचन आयोगका कर्मचारीलाई निर्देशन दिए ।
पर्यटकीय सहरकोरुपमा चिनिएको भक्तपुर अहिले निर्वाचन प्रचार–प्रसारका सामग्रीले कुरुपझैं बनेको छ ।
सहरका मुख्यचोक, गल्ली, घरलगायतका स्थान उम्मेदवारका प्रचार सामग्री र दलका चुनाव चिह्नले भरिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरबाट आचारसंहिताविपरीतका निर्वाचन सामग्री हटाउन सुरु गरेको टोलीले दूधपाटी, क्वाँछे, सुकुलढोका, साकोठालगायत क्षेत्रमा रहेका दल र दलका उम्मेदवारका निर्वाचन सामग्री हटाएको थियो ।




प्रतिक्रिया दिनुहोस्