स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने ६४ प्रतिशत मतमात्र खसेको हो ।
बझाङमा स्थानीय तहको निर्वाचनमाभन्दा अहिलेको निर्वाचनमा कम मत खसेपछि चर्चा बढेको हो ।
स्थानीय तहको निर्वाचनमा धेरैजसो विदेशिएका युवाहरु पनि गाउँ फर्किएका थिए । त्यतिबेला गाउँ पुगेका युवाहरु अहिले काम सक्काएर रोजगारीका लागि फेरि भारत तथा विदेश गएका कारण मत कम खसेको स्थानीय रामचन्द्र रोकाया बताउँछन् ।
स्थानीय तहको निर्वाचनमा विदेशिएका युवा–युवतीहरु मतदान गर्नका लागि र आफन्तहरुलाई विजयी गराउनका लागि मतदान गर्न गाउँ फिर्ता भएका थिए । त्यतिबेला स्वयं उम्मेदवारहरुले पनि मतदाता नामावलीमा नाम भएका व्यक्तिहरुलाई गाडी नै ‘रिजर्भ’ गरेर जिल्लामा ल्याएका थिए । जसका कारणले मत बढी खसेको थियो ।
स्थानीय तहको निर्वाचनभन्दा प्रभावकारी तरिकाले प्रचार–प्रसार नभएको कारणले मत कम खसेको नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंह बताउँछन् ।
स्थानीय तहको निर्वाचनमा धेरैजसो फर्जी मतहरु खसेका कारणले पनि मत बढेको हुनसक्ने जानकार व्यक्तिहरुको भनाइ छ ।
स्थानीय तहको निर्वाचनभन्दा अहिलेको निर्वाचनमा फर्जी मतहरु नखसेका कारणले मत कम खसेको हुनसक्ने धेरैजसो स्थानीय बासिन्दाहरुले व्याख्या गरेका छन् ।
उम्मेदवारहरु बद्लिने तर उनीहरुका भाषण र जनतालाई दिने आश्वासनहरु उही रहने र पूरा कहिले पनि नहुने भएका कारण मतदाताहरुमा निराशा भइ मत नै नहालेको स्थानीय तथा महिला अधिकारकर्मी सीता सिंहको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार स्थानीय तहको निर्वाचनमा ९७ हजार ६१० मतदाता रहेका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाताहरु बढेर १ लाख ४ हजार २७५ रहेका छन् ।
स्थानीय तहको निर्वाचनभन्दा ७ हजार १६५ मतदाताहरु बढेको भएपनि मत भने स्थानीय तहको निर्वाचनभन्दा ९ प्रतिशत मत कम खसेको पाइएको छ ।
बझाङमा स्थानीय तहको निर्वाचनमा ७१ हजार २५५ मत खसेको भएपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने ६६ हजार ७३६ मतमात्र खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्