२ असार २०८२, सोमबार | Tue Jun 17 2025


‘मतदान कसरी गर्ने केही जानकारी छैन’ (भिडियो)


0
Shares

तर, रुपन्देहीको मर्चवार क्षेत्रमा भने मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन ।

रुपन्देहीको क्षेत्र नम्बर–४ अन्तर्गत् पर्ने मर्चवारको मझगावामा मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु मत माग्न गाउँगाउँ पुग्दा मतदाता भने कसरी मत हाल्ने भन्नेमा अन्योलमा रहेका छन् ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि भनेर करोडौं रुपैयाँ खर्च गरे पनि मर्चवारमा भने त्यसको प्रभावकारिता न्यून देखिएको छ । आयोगले मतदातामाझ मतदान शिक्षा पुर्‍याउन नसक्दा त्यसको प्रभावकारिता न्यून देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवकहरु गाउँगाउँमा परिचालन गरेको जनाएको छ । तर, स्वयंसेवकहरु गाउँमा नआएको मतदाताहरु बताउँछन् ।

मझगावाका रामप्रसाद त्रिपाठीले अहिलेसम्म आफूहरुलाई कसरी मतदान गर्नेबारे केही जानकारी नभएको बताए ।

निर्वाचन कार्यालयले गाउँगाउँमा स्वयंसेवक परिचालन गरेको भएपनि समय अभावका कारण प्रत्येक मतदाताको घरमा पुग्न नसकेको जनाएको छ ।

अन्य ठाउँमाजस्तै मर्चवार क्षेत्रमा पनि सामूहिकरुपमा मतदाता शिक्षा सन्चालन गरिएको निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाका दुईओटा चुनाव एकैपटक गर्दा तीनओटा मतपत्रमा चार ठाउँमा मत दिनुपर्ने व्यवस्थाका कारण मतदातामा अन्योल देखिएको हो ।

रुपन्देहीका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा उम्मेदवारहरु मत माग्न घरघरमा पुगिरहँदा उनीहरुलेसमेत मतदाता शिक्षाबारे त्यति ध्यान दिएको देखिँदैन ।

भिडियो हेर्नुहोस्