
राजधानीकै मतदाताको अवस्था यस्तो छ भने दूरदराजका सर्वसाधारणले कत्तिको शिक्षा पाएका होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव सकिएको छ । मुलुक दोस्रो चरणको चुनावमा होमिएको छ ।
मतदानको दिन आउन एक सातामात्र बाँकी छ । तैपनि, उपत्यकाकै अधिकांश मतदाता मतपत्र कस्तो हुन्छ र कसरी मत हाल्ने भन्नेमा अनभिज्ञ देखिए ।
गणतन्त्र स्थापनापछि हुन लागेको पहिलो प्रदेश र प्रतिनिधिसभाको चुनावमा मतदान गर्न मतदाता त निकै हौसिएका छन् । तर, हरेक निर्वाचनमा फरक–फरक मतपत्र हुँदा अन्योल पनि थपिएको उनीहरु बताउँछन् ।
निर्वाचन आयोगले स्थानीय तहमाजस्तो धेरै मत बदर नहोस् भनेर घरघरमा मतदाता शिक्षक पठाएपनि मतदाता शिक्षा भने अझै प्रभावकारी हुन सकेको छैन ।
स्थानीय तहभन्दा यसपटक मतपत्र फरक र मतदान गर्ने प्रक्रिया पनि फरक हुँदा पढेलेखेकै मतदाता पनि अन्योलमा छन् ।
मतदाताहरु उम्मेदवार चुनावमा भोट माग्नमात्र आउने तर मतदान कसरी गर्ने भन्ने सिकाउन कोही पनि नआएको गुनासो गर्छन् । मतपत्र कस्तो हुन्छ, मत कसरी हाल्ने भन्ने विषयमा थोरैलाईमात्र थाहा छ ।
केही मतदाता आफ्नै सन्तानले मत हाल्न सिकाएको बताउँछन् भने केही मतदाताचाहिँ सन्चारमाध्यमबाट सिकिरहेको बताउँछन् । केही भने मतदानकै दिन मतदानस्थलमा गएरै सिक्ने बताउँछन् ।
माघ महिनासम्ममा जसरी पनि चुनाव गराउनुपर्ने बाध्यता भएकाले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक हुन लागेको हो । दुवै चुनाव एकैचोटी गर्दा मतपत्रमा भिन्न्ता हुँदा मतदानमा जटिलता देखिएको हो ।
निर्वाचन आयोगको मतदाता शिक्षा प्रभावकारी बन्न नसकेपनि युवा मतदाता भने विभिन्न सन्चारमाध्यमहरुबाट मतदान गर्ने तरिका सिकिरहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्