२ असार २०८२, सोमबार | Tue Jun 17 2025


यसकारण दोस्रो चरणको निर्वाचन बढी रोचक


0
Shares

‘हेभीवेट’ उम्मेदवारहरुको उपस्थिति रहेका कारण भावी प्रधानमन्त्रीको चयनसमेत गर्ने ठानिएको यो निर्वाचन पहिलो चरणभन्दा बढी चोटिलोसमेत बन्ने छ ।

दोस्रो चरणअन्तर्गत् ४५ जिल्लामा २१ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ एक हजार ६१९ र प्रदेशसभातर्फ २ हजार ८१९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

जसमा प्रतिनिधिसभातर्फ १३० महिला र १ हजार ५३३ पुरुष तथा प्रदेशसभातर्फ २२० महिला तथा २ हजार ५९९ जना पुरुष उम्मेदवार रहेका छन् ।

१२८ प्रतिनिधिसभा सदस्य र २५६ प्रदेशसभा सदस्यका लागि हुने मतदानमा १ करोड २३ लाख ५ हजार ९९० मतदाता सहभागी हुँदैछन् ।

यो निर्वाचन सिट संख्या, उम्मेदवार संख्या र मतदाता संख्या बढी रहेकालेमात्र होइन, अन्य थुप्रै कारणले पहिलोभन्दा बढी रोचक बन्दैछ ।

प्रमुख दलका अधिकांश शीर्ष नेताहरुसमेत यही निर्वाचनका प्रतिस्पर्धी भएकाले यसैपनि चासो देखिएको छ भने यो चरणको चुनाव सकिएकै रातिदेखि मतगणना सुरु हुने भएकोले थप उत्सुकता पनि बढिरहेको छ ।

यो निर्वाचनमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमन्डलका नेताहरु र राप्रपाका अध्यक्ष कमल थापा मैदानमा छन् ।

त्यतिमात्र होइन, दलका दोस्रो पुस्ताका अधिकांश नेताहरुसमेत यही निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । नयाँ संसदले बनाउने नयाँ प्रधानमन्त्री पनि सम्भवतः यही निर्वाचनले दिनेछ ।

पहिलो चरणको निर्वाचन थुप्रै आशंकाको बाबजुद् छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । तर, त्यसपछि शीर्ष नेता र उम्मेदवार लक्षित आक्रमणका घटना बढ्दै गएका छन् । यसले सुरक्षा चुनौती अरु बढाएको छ ।

यद्यपि, निर्वाचन आयोगले सहजरुपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यानकेन्द्रित गरेको जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार अबको एक हप्तामै हुने चुनावका लागि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

यो निर्वाचनका लागि ७ हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।

भिडियो हेर्नुहोस्