२ असार २०८२, सोमबार | Tue Jun 17 2025


काठमाडौं–१० मा केसी र शाक्यमा को बलियो ? (भिडियो)


0
Shares

उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

यहाँ प्रतिनिधि र प्रदेशसभामा गरी करिब तीन दर्जनभन्दा बढी उम्मेदवार चुनावी मैदानमा रहेपनि नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भारी मतले पराजित गरेर चर्चामा आएका कांग्रेस नेता एवं खेलकुदमन्त्री राजन केसी यसपटक पनि चुनावी मैदानमा छन् ।

दाहालसँग पहिलो संविधानसभाको निर्वाचनमा पराजित केसीले दोस्रो संविधानसभामा भने उनै दाहाललाई पराजित गरेर पैचो तिर्न सफल भए ।

यसपालि जित दोहोर्‍याउने सुरमा रहेका केसीलाई चुनौतीकारुपमा उभिएका छन्, वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितमान शाक्य ।

कांग्रेस उम्मेदवार केसी स्थानीय र राष्ट्रिय राजनीतिमा परिचित अनुहार हुन् भने शाक्य पहिलोपटक यो क्षेत्रमा परीक्षामा छन् ।

शाक्य २०६४ सालमा काठमाडौं–६ बाट विजयी भएपनि २०७० को संविधानसभामा भने वैद्य माओवादीतिर लागेर बहिस्कारको बाटोमा लागेका थिए ।

यसपटक भने जितको दाबी दुवैको छ । कांग्रेस उम्मेदवार राजन केसी लामो समयदेखि स्थानीयको विकास निर्माणलगायतका चासो र सरोकारमा साथै रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।

शाक्य भने काठमाडौं क्षेत्र नम्बर–१० कम्युनिष्टको गढ रहेको दाबी गर्दै आफ्नो जितमा कुनै अवरोध नरहेको जिकिर गर्छन् ।

काठमाडौं क्षेत्र नम्बर–१० नेवार समुदायको बाहुल्यता रहेको क्षेत्र हो । त्यसैलाई ध्यान दिएर दुवै पक्षले प्रदेशसभामा भने स्थानीय नेवार समुदायका उम्मेदवारलाई मैदानमा उतारेका छन् ।

कांग्रेसले प्रदेश ‘क’मा पुकार महर्जन र ‘ख’मा धर्मानन्द श्रेष्ठ तथा वाम गठबन्धनले ‘क’मा दिलीप महर्जन र ‘ख’मा रमा आलेमगरलाई उतारेको छ ।

प्रदेशसभाका उम्मेदवार पनि राष्ट्रिय र स्थानीय मुद्दासहित मतदाताको दैलोदैलो पुगिरहेका छन् ।

दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि तीन नगरपालिका रहेको यस क्षेत्रको स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले चन्द्रागिरि र दक्षिणकाली तथा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख आफ्नो पक्षमा पारेको थियो ।

यस क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको कीर्तिपुरले प्रत्यक्षतर्फ कुनै उम्मेदवार पाएको छैन । यस्तोमा कीर्तिपुरवासीले कसको पक्षमा मत देलान् भन्ने चासो छ ।

यसअघिका नतिजा पनि कीर्तिपुरवासीको ‘मुड’मा भरपरेको सन्दर्भमा यसपटक पनि अहिलेसम्म उनीहरुले मौनता तोडेका छैनन् । महर्जन बहुल यस नगरपालिकामा करिब २९ हजार मतदाता छन् ।

यसैले नगरभित्रको मत कसको पक्षमा जाने हो त्यही उम्मेदवारको पल्लाभारी हुने देखिन्छ ।

पूरै क्षेत्रमा भने ७१ हजार २०१ मतदाता रहेको यहाँ कसले बाजी मार्ला भन्ने जान्नचाहिँ मंसिर २१ को मतदान पर्खनैपर्नेछ ।

भिडियो हेर्नुहोस्