२ असार २०८२, सोमबार | Tue Jun 17 2025


भित्र मतपेटिका, बाहिर कडा पहराबीच कौतुहलता (भिडियो)


0
Shares

यसअघिका निर्वाचनमा मतपेटिका ल्याएपछि मतगणना सुरु गरिएकोमा यसपटक दोस्रो चरणको मतदान सकिएसँगै मतगणना सुरु गर्ने निर्णय गरिएको छ । अहिले नै मतगणना गर्दा के हुन्छ ? भन्ने जिज्ञासा बढेको छ । मतपेटिकालाई सुरक्षित राखिएका छन् । यद्यपि मुसा पसेर मतपेटिका काटिदिए, मतपत्र च्यातिदिए के गर्ने ? भन्ने प्रश्न सर्वसाधारणले उठाएका छन् ।

मतपत्रभित्रै रहँदा बजारमा कसले जित्ने भनेर अंक गणितीय हिसावले अनुमान गर्न थालेका छन् । यही अनुमानले पनि सबैमा मतपत्र छिटो गनिदिए हुने भन्ने चिन्ता व्यक्त हुन थालेको छ । ‘मतपत्र भित्र छ । अहिले नै गनिदिए उम्मेदवार, मतदाता, शुभचिन्तक सबैलाई एक किसिमको हुटहुटी र छटपटी अन्त्य हुन्थ्यो,’ बेंसीसहर नगरपालिका १० बाँझखेतका सीताराम बसेलले भने ।

जिल्लाका १ सय ६५ मतदान केन्द्रबाट ल्याइएका ४ सय ९५ मतपेटिकाकालाई ३ ठाउँमा राखिएको छ । मतपेटिकाको सुरक्षार्थ १० वटा सीसीटीभी जडान गरिएको छ । मतपेटिकालाई बाहिरबाट रुँघ्न कांग्रेस, एमाले र माओवादी केन्द्रका २/२ जना प्रतिनिधि रातदिन खडा छन् ।

पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र बाहिर नेपाली सेनाले गस्ती गरिरहेको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले मतपेटिकाको सुरक्षार्थ अधिकतम जनशक्ति परिचालन गरिएको बताए । उनले मतगणनाको सम्पूर्ण तयारी गरिएको र दोस्रो चरणको चुनाव सकिएपछि मतगणना गरिने बताए ।

एक निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभामा एक स्वतन्त्रसहित १० दलका उम्मेद्वार प्रतिष्प्रधामा छन् । दुई प्रदेश सभा मध्ये ‘क’ मा ६ जना र प्रदेश सभा ‘ख’ मा ८ जना उम्मेद्वार प्रतिश्पर्धामा छन् । यीमध्ये कसले विजयी प्राप्तगरि संसदको बाटो तय गर्नेछन्, त्यसका लागि मतपेटिका खोल्नैपर्ने हुन्छ ।

भिडियो हेर्नुहोस्