२ असार २०८२, सोमबार | Mon Jun 16 2025


सबैभन्दा सुगम मानिएको क्षेत्र ‘काठमाडौं–१’मा के छ मतदाताको अपेक्षा ? (भिडियो)


0
Shares

जनताको प्राथमिकता पनि खानेपानी नै देखिन्छ ।

काठमाडौं महानगरपालिकाको ४ वटा वडा मात्र रहेको यो निर्वाचन क्षेत्र यसपटक अलि बढी चर्चामा छ । खासै चुनावी परिणाम र मतदाताको मनोविज्ञान बुझ्न नसकिने क्षेत्रका रुपमा चित्रित यहाँ लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंह, बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अनिल शर्मा र विवेकशिल साझाबाट रवीन्द्र मिश्र चुनावी प्रतिस्पर्धामा छन् ।

लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान २०६२/०६३ पछिका निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । यहीँबाट जितको ह्याट्रिक गर्ने दाउमा रहेका सिंह कांग्रेसकै कारण लोकतन्त्र स्थायित्वको बाटोमा गएको भन्दै आर्थिक सम्मृद्धिका लागि कांग्रेसलाई जिताउनुपर्ने बताउँछन् ।

नयाँ अनुहार माओवादी केन्द्रका शर्मा स्थिर सरकारमार्फत् मुलुकको अनुहार फेर्न आफुहरुलाई मत दिनुपर्ने दलिल पेश गर्छन् ।

पत्रकारिताको लामो पृष्ठभूमिका साथ जनताको कठघरामा उत्रिएका मिश्र भने राजनीति संग्ल्याउनकै लागि आफूलाई मत दिनुपर्ने बताउँछन् ।

मतदातालाई भने उम्मेदवारका कुराले खासै तानिरहेको छैन । खानेपानी समस्याको समाधान, ढलको व्यवस्था, धुलोमुक्त सडक र व्यवस्थित बसोबास उनीहरुका प्राथमिकता बनेका छन् । जनताको चाहना स्थानीय विकास निर्माण भएपछि उम्मेदवार पनि त्यही मुद्दाको पन्तुरो बोकेर कुदिरहेका छन् ।

पुराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धामा पुरानो चुनावी अंकगणितले काम गर्ला वा मतदातको मन फेरिएला ? त्यसैमा उम्मेदवारको भविष्य टुंगो लाग्नेछ ।

भिडियो हेर्नुस्